७ माघ, गोरखा । चीनसँग सिमा जोडिएको उत्तरी गोरखाका दुई नाका विगत तीन बर्षदेखि बन्द छन् । कोरोना कारण देखाउदै बन्द भएको चुमनुब्री–१ अन्तर्गतको रुइला र चुमनुब्री–७ छेकम्पारको ङुइला नाका अझै खुलेको छैन ।
दुवै नाका उत्तरी गोरखाका स्थानीयको व्यापारिक केन्द्र हो । नुन तेलदेखि आवश्यक खाद्य सामग्री किनमेल गर्न जाने नाका लामो समयम्म ठप्प हुदाँ स्थानीय मर्कामा परेका छन् । जीवनशैलीमै असर पुगेको साम्दोका स्थानीय निमा दोर्जे लामा बताउछन् । ‘हामीलाई चाहिने सबै खाद्यान्न चिनबाटै ल्याउथ्यौ,’ उनले भने, ‘तर तीन बर्ष बढी भइसक्यो नाका बन्द भएको, हाम्रो जीवनशैलीमा नराम्रो असर परेको छ ।’
नाका नखुल्दा महँगो शुल्क तिरेर माछाखोलाबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । भन्छन्, ‘रुइला नाका पुग्न आधा दिनको बाटो हो तर माछाखोला हुदै आउन ५/६ दिन लाग्छ, किलोको हिसावले ढुवानी खर्च लाग्छ, माछाखोलाबाट ल्याउँदा यसै महँगो पर्ने भयो ।’ उपभोग्य सामग्रीका लागि गोरखाको तल्लो क्षेत्रका बजारको भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
यसअघि छेकम्पारको ङुइला नाका बाह्रै महिना र सामागाउँको रुइला नाका बर्षको एक पटक (एक महिनाका लागी) खुल्थ्यो । याक र घोडा लिएर स्थानीयहरु खाद्यान्न किनमेलका लागी नाका पुग्थे । तर कोभिड शुरु भएसँगै चीनले नाका बन्द गर्दै आएपछि समस्या भएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा बताउछन् । ‘दैनिक उपभोग्य वस्तुको समस्या त यसै भयो त्यसमाथि बिकास निर्माणको काममा पनि प्रभाव पारेको छ,’ उनी भन्छन्, ‘नाका बन्द छ, तलबाट निर्माण सामग्री ल्याउँदा ढुवानी खर्च नै बढी लाग्छ ।’ बन्द भएका नाका खुलाएर व्यापारिक नाकाको रुपमा बिकास गर्नुपर्ने उनको भनाइ छ ।
नाका खुलाउनका लागी जिल्लादेखि केन्द्रसम्म माग गरिरहेको उनले बताए । बन्द रहेका नाका खुलाउन गृह मन्त्रालयलाई पटक पटक पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । उनले भने, ‘तीन पटक गृहलाई पत्राचार गरिसक्यौ, गृहले परराष्ट्र मन्त्रालयमा पठाएपनि परराष्ट्रबाट केही त्यस्तो केही जानकारी आएको छैन ।’
दुई देश बिचको कुरा भएकाले परराष्ट्रबाटै पहल हुनुपर्ने उनले बताए । नाका खुलाउन स्थानीयले पटक पटक माग गर्दै आएका छन् । तर सुनुवाइ भएको छैन ।



































