२० माघ, गोरखा । दश लाखभन्दा कमका योजनामा बजेट विनियोजन नगर्न जिल्ला समन्वय समितिले संघ तथा प्रदेशलाई आग्रह गरेको छ । बिहीवार सम्पन्न सातौ जिल्ला सभाले राष्ट्रिय योजना आयोगको मापदण्ड बमोजिम दश लाखभन्दा बढीका योजनामा मात्र बजेट विनियोजन गर्न संघ तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
स्थानीय तहको आवश्यकतालाई मध्यनजर गर्दै योजना छनोट गर्न पनि आग्रह गरिएको जिल्ला समन्वय अधिकारी नानीवावु पोखरेलले बताए । सभाले जिल्ला स्तरिय गुणस्तर परिक्षण प्रयोगशाला निर्माणका लागी नेपाल सरकार र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ । पालिका स्तरीय सडक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा जोड दिन सबै स्थानीय तहलाई निर्देशन समेत दिइएको छ ।
प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोगमा जोड दिन पनि भनिएको जिसस प्रमुखका स्वकीय सचिव राजन आले मगरले जानकारी दिए । उनका अनुसार पालिकामा मौज्दात कोषबाट संचालित योजनाहरु तोकिएको समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ ।
जिसस प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य भुवन सुनारको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख लिला परियार, निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, गोरखा संग्रहालय प्रमुख नवराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।



































