स्थानीयले राखेका माग सम्बोधनका लागि गृहमन्त्री सुधन गुरुङ कपितय अवस्थामा फिल्डबाटै तत्काल निर्देशन दिने गर्छन् । तर, विना विस्तृत अध्ययन हतारोमा उनले गरेको निर्देशनले समस्या समाधानभन्दा अन्योलता बढाउने गरेको छ ।
प्रसँग जोडौ इलाका प्रहरी कार्यालय मनकामनाको जग्गामा लगाइएको घेरावारको । मतदाता भेटघाटको क्रममा आइतवार मनकामना पुगेका उनले इप्रकाको जग्गा संरक्षणका लागि लगाइएको घेरावार तत्काल हटाउन प्रहरीलाई निर्देशन दिए । आफ्नै जग्गा संरक्षणका लागि आफ्नै जग्गामा लगाइएको घेरावार हटाउन निर्देशन भएपछि प्रहरी प्रशासन पनि अन्योलमा परेको छ । जनप्रतिनिधी र स्थानीय अलमलमा छन् ।
यसअघि पनि वनको जग्गा अतिक्रमण गरी बसेको बाह्र किलो बजार व्यवस्थापनका लागि गृहमन्त्री गुरुङले हतारोमा दिएको निर्देशनको चौतर्फी आलोचना भएको थियो ।
शहिद लखन गाउँपालिका–२ को वडा कार्यालय नजिकै नेपाल प्रहरीको स्वामित्वमा ३२९.८९ वर्ग किलोमिटर जग्गा छ । ७९९ कित्ता नम्वरको उक्त जग्गामा इप्रकाको नयाँ भवन बनाउने योजनासहित गत बर्ष प्रहरीले तारबार लगाएर आफ्नो जग्गा संरक्षण गरेको हो । जग्गा संरक्षणका लागि लगाइएको घेरावार तत्काल हटाउन गृहमन्त्रीले निर्देशन दिएपछि स्थानीयसँगै जनप्रतिनिधीले पनि असन्तुष्टी जनाएका छन् ।
निजी स्वार्थका लागि केही व्यक्तिहरुले गृहमन्त्रीलाई गलत बिफ्रिङ गरेको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘गृहमन्त्रीको काम नेपाल प्रहरीलाई व्यवस्थित बनाउने होला,’ उनले भने, ‘अहिले मनकामना चौकी आफ्नो जग्गामा नभइ गुठीको जग्गामा छ, आफ्नो जग्गालाई त संरक्षण गरेर चौकी निर्माणमा अघि बढ्नुपथ्र्याे, तर गृहमन्त्रीलाई कसैले गलत ढंगले ब्रिफिङ गरिदिए ।’ उक्त इप्रकालाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्ने प्रक्रिया पनि अघि बढेकाले आफ्नै भवन अति आवश्यक रहेको उनको भनाइ छ । आफ्नै जग्गा संरक्षणका लागि लगाइएको तारवार हटाउन निर्देशन दिनु गलत भएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे ।
वडा नम्वर २ का अध्यक्ष सकुन थापाको चौकीकै जग्गामा तारवार लगाएकाले भत्काउन आवश्यक नरहेको बताइन् । ‘त्यो चौकीकै जग्गा हो,’ उनले भनिन्, ‘आफ्नै जग्गामा लगाएको तारवार भत्काउनुपर्ने म देख्दिन ।’ केही व्यक्तिहरुले आफ्नो स्वार्थका पदपूर्तिका लागि गृहमन्त्रीलाई उक्साएको हुन सक्ने उनको भनाइ छ । उनले भनिन्, ‘गृहमन्त्रीलाई त्यो कुरा थाहा भएन होला, केही समयअघि अदालतमा मुद्दा परेर नापीले वडा कार्यालय, इप्रका र सार्वजनिक जग्गा छुट्याइसकेको छ ।’ सोही अनुसार प्रहरीले आफ्नो जग्गा संरक्षण गर्न तारवार लगाएकाले भत्काउन आवश्यक नरहेको उनले तर्क गरिन् ।

स्थानीय दिनेश जोशीले पनि तारवार गरिएको जग्गा प्रहरीकै नाममा रहेको बताए । ‘चौकीले कसैको जग्गा हडपेको छैन, आफ्नै जग्गामा घेरावार लगाएको हो,’ उनले भने ।
यसअघि केही व्यक्तिले आफू अनुकुल उक्त जग्गा उपभोग गर्दै आएका थिए । निर्माण सामाग्री थुपार्नेदेखि सवारी पार्किङसम्म सो जग्गा प्रयोग हुदै आएको थियो । आफ्नो जग्गा संरक्षणका लागि प्रहरीले घेरवार लगाएपछि आफू अनुकुल प्रयोग गर्न नपाउँदा समस्या उब्जिएको स्थानीयको भनाइ छ । बिशेष गरी पुजारी गाउँका केही स्थानीयले घेरावार हटाउन दवाव दिदै आएका छन् ।
गृहमन्त्रीको निर्देशनपछि जिल्ला प्रहरी प्रमुख एसपी अनिलकुमार खड्का पनि अन्योलमा छन् । ‘हाम्रै चौकीको जग्गालाई संरक्षण गर्न घेरावार गरेका हौ, अव गृहमन्त्री ज्यूले हटाउन भन्नुभयो,’ उनले भने, ‘हेडक्वाटरसँग समन्वय गर्छाै, माथिबाट जे आदेश आउँछ सोही अनुसार अघि बढ्छौ ।’
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भने यस बिषयमा बोल्न चाहेनन् ।



































