गाउँभरि सन्नाटा छाएको छ । सबै निशब्द छन् । एक अर्कालाई सहानुभूति दिने प्रयास गर्छन्, शब्द पाउदैनन् । अनायसै उनीहरुको आँखा रसाउँछ, भक्कानिन थाल्छन् ।
गोसाईकुण्ड तिर्थयात्रामा निस्किएका एकै गाउँका ३२ जना रसुवा बाढीमा परि सम्पर्कविहीन बनेपछि पालुङटार नगरपालिका–५ माझाटारस्थित नौखोर गाउँ अहिले शोकमा डुवेको छ । गत वुधबारको रसुवा बाढीले गाउँको खुशी नै बडारियो । कसैले अभिभावक गुमाए, कसैले बुढेसकालको सहारा ।
जुनामाया पण्डितकी छोरावुहारी त्यही वाढीमा परी वेपत्ता छन् । त्यो खवरले अचेत उनी घरिघरि मुर्छा पर्छिन् । डाको छोडेर रुन्छिन् । उनको चित्कारलाई न आफन्तका सहानुभूतिले थमथम्याउन सकेको छ, न छिमेकीका सान्त्वनाले ।
छोरा केदार र बुहारी सरिता जुनामायाको बुढेसकालको सहारामात्र थिएनन्, तीन बर्षीया नातिनी र ११ बर्षीय नातीको भविष्य समेत थिए । तर रसुवा बाढीले पण्डित दम्पत्तिको वर्तमान त खोस्यो नै अवोध ती बालबालिकाको भविष्य समेत अन्योलमा पारिदियो । कलिला ती छोराछोरीको हेरचाह र लालनपोषण अव कस्ले गर्ला ? बुढी भइसकेकी जुनामायाको स्याहारसुसार के होला ? यस्तै प्रश्नहरु तेर्सिन्छन्, तर जवाफ भेटिदैन ।
गाउँका अधिकांश घरमा यस्तै पीडाको बाछिटा छ । कसैका बुवाआमा वेपत्ता छन्, कसैका श्रीमती । आफन्त र छिमेकी गुमाउँदाको पीडाले गाउँ शोकाकुल बनेको छ ।
बाढी गएको छेटौ दिनसम्म पनि स्थानीयले वेपत्ता आफन्तको न लाश भेटेका छन् न सास । भेटिएका शव पहिचानका निम्ति चितवन र पोखरा धाइरहेका छन् । स्थानीय रामशरण देवकोटाको दिनचर्या पनि चितवन र पोखरा धाउँदैमा वितिरहेको छ । बाढीमा वेपत्ता आफ्नी आमा र दुई सानिमा सास वा लाश केही भेटिन्छ की भन्ने आशमा उनी दौडधुप गरिरहेका छन् । तर, अव उनले हार खाइसके ।
‘शव भेटिएर यहाँ राखिएको छ भन्छन्, तै पनि आमा वा सानिमा कसैको हो की भनेर गयो,’ भावुक हुँदै उनले भने, ‘अनुहार मिल्छ की भनेर फोटो हे¥यो तर अनुहार नै चिन्न सक्ने अवस्थामा छैन ।’ अव अनुहार हेरेर मान्छे पहिचान गर्न मुश्लिक हुने उनले बताए । भने, ‘अव लाश हेरेर मान्छे पहिचान गर्न सकिदैन, बरु गाडी खोजेर त्यहाँभित्र केही लत्ताकपडा मात्र फेला पार्न पाएपनि चित्त बुझाउनुहुन्थ्यो ।’
खुलेन दिलबहादुर दम्पत्तिको घरको ताला
स्थानीय दिलबहादुर खत्रीको घर यतिबेला सुनसान छ । बिगत ६ दिनदेखि घरको ताला खुलेको छैन । रसुवा बाढीमा परेर दिलबहादुर दम्पत्ति सम्पर्कविहीन भएपछि न आँगनमा सुकाइ राखेको मकै उठाइदिने मान्छे छन् न बार्दलीमा बलेको बत्ति निभाइदिने कोही छ । ‘दुई वटा छोरी दुवै बिदेशमा छन्,’ स्थानीय दाताराम देवकोटाले भने, ‘घरमा बुढाबुढी मात्र थिए, दुवै बाढीमा परेपछि अहिले ढोका खोलिदिने मान्छे पनि छैन ।’ उक्त घटनाले दिलबहादुरको घरमात्र होइन सिँगो गाउँ नै सुनसान बनेको छ ।

सहानुभूतिका लागि पालुङटार पुगे मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त घटनाप्रति दुख व्यक्त गरेका छन् । शोकमा डुवेको गाउँमा सहानुभूति प्रकट गर्न शुक्रवार उनी पालुङटार पुगेका थिए । बाढीमा परि सम्पर्कविहीन भएकाहरुको आफन्तलाई भेटेर पाण्डेले उनीहरुको समस्याबारे जानकारी लिदै सहानुभूति प्रकट गरे । उद्दार र खोजी कार्यलाई तिव्रता दिन स्थानीयले आग्रह गरे । मुख्यमन्त्री पाण्डेले उद्दारको काम भइरहेको र खोजी कार्यका लागि प्रदेश सरकारले थप आवश्यक समन्वय र पहल गर्ने बताए ।

पालुङटारबाट तिर्थयात्री बोकेर गोसाईकुण्ड जादै गरेको ग २ ख ११५२ नम्वरको बस रसुवा बाढीमा परि वेपत्ता भएको हो । उक्त बसमा सवार एकै गाउँका ३८ जनामध्ये ६ जनाले हाम फालेर ज्यान जोगाए, बाँकी वेपत्ता छन् । जसमध्ये दुई जनाको शव फेला परेको छ । बाँकीको भने अझै केही अत्तोपत्तो छैन ।



































