२४ कात्तिक, गोरखा । बुढीगण्डकी जलबिद्युत आयोजनाका प्रभावितहरुले आसन्न निर्वाचनका उम्मेदवारहरुलाई आयोजनाबारे पहिलेका सांसदले जस्तो नझुक्याउन भन्दै खवरदारी गरेका छन् । बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समिति र सरोकार समिति आरुघाट बिशालटारले संयुक्त रुपमा बिहीवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै डुवानवासीलाई मर्का पर्ने कुनै पनि निर्णयमा साथ नदिने प्रतिवद्धता गर्न उम्मेदवारलाई आग्रह गरेका छन् ।
‘विगतमा पनि निर्वाचित सांसदहरुसँग हामीले सहकार्य गरेर अघि बढ्ने प्रयत्न ग¥यौ, तर उनीहरुले डुवानवासीको हितको विपक्षमा राज्यले गरेका निर्णयमा पनि समर्थन जनाएर त्यस्ता निर्णयमा साक्षी बसे,’ समिति संयोजक हरेराम ढकालले भने, ‘त्यसैले पहिलेका सांसदले जस्तो नझुक्याउन भनेर अहिले चुनाव हुने बेलादेखि नै हामी उम्मेदवारहरुलाई खवरदारी गर्न चाहन्छौ ।’
निर्वाचित भएपश्चात जनप्रतिनिधिले डुवानवासीको मुद्धा बोकेर संसदमा आवाज उठाउनुपर्ने उनीहरुको माग छ । दर्ता छुट भएका जग्गाको भोगचलनको आधारमा मुआब्जा दिनुपर्ने, सुकुम्वासी र ऐलानी जग्गामा बसोबास गर्ने डुवानवासीलाई मापदण्ड बनाएर मुआब्जा वितरण हुनुपर्ने र सार्वजनिक संघसंस्था, बिद्यालय, मठमन्दिरको पनि सम्बन्धित संस्थालाई मुआब्जा वितरण गर्नुपर्ने लगायतका मागमा उनीहरुले सकारात्मक भूमिका खेल्नुपर्ने प्रभावितहरुको माग छ ।
‘मुआब्जा निर्धारण गर्दा जिल्ला मुआब्जा निर्धारण समितिले मन्त्रिपरिषदलाई सिफारिस गरेका बुँदाहरु हालसम्म कार्यान्वयन भएको छैन, तीन बुँदा मन्त्रिपरिषदबाट निर्णय गराउन अव निर्वाचित भएर जाने सांसदहरुले नेतृत्व गर्नुपर्छ,’ ढकालले भने । मआब्जा वितरणमा लिइएको पुँजीगत लाभकर फिर्ता गराउन उनीहरुले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
पुनर्वास र पुनस्र्थापनाको काम तत्काल शुरु गर्न पनि प्रभावितहरुले माग गरेका छन् । सीमानामा भएका घरगोठको मुआब्जा दिने व्यवस्थाका लागी पनि पहल गर्नका लागी प्रतिवद्ध रहन उनीहरुले उम्मेदवारहरुलाई अग्रिम खवरदारी गरेका छन् ।



































