५ पुष, गोरखा । ३०१ औ पृथ्वी जयन्तीको अवसर पारेर गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो ।
पुष २७ गतेबाट शुरु हुने महोत्सव माघ ७ गतेसम्म चल्ने आइतवार पत्रकार सम्मेलन गर्दै संघले जानकारी गराएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै जिल्लाको परिचय बाह्य क्षेत्रमा चिनाउने उदेश्यले महोत्सव गर्न लागिएको संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए ।
महोत्सवमा औद्योगिक, हस्तकला, कृषि लगायतका प्रदर्शनी हुनेछन् । खाना महोत्सवसँगै मनोरन्जनात्मक हास्यव्यंग्य कार्यक्रम, चौथो गोरखा तारा (गायन), रमाइलो मेला, मनोरन्जनात्मक खेलहरु, धार्मिक, पर्यटकिय एवं ऐतिहासिक क्षेत्रको फोटो तथा वृत्तचित्र प्रदर्शनी, गाउँपालिका तथा नगरपालिका स्तरिय खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत हुने संघले जनाएको छ ।
महोत्सव अवधिभर बिभिन्न प्रतियोगीता समेत हुनेछन् । दोहोरी गीत प्रतियोगीता, खुल्ला युगल तथा गोरखा नगरपालिका भित्रका मावि स्तरिय नृत्य प्रतियोगीता, प्रदेश स्तरिय व्याडमिण्टन प्रतियोगीता, जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीता, झाँकी प्रदर्शनी प्रतियोगीता, रत्यौली गीत प्रतियोगीता र चित्रकला प्रतियोगीता महोसत्वमा समावेश हुने बताइएको छ ।
महोत्सवकै अवसरमा म्यान अफ द गोरखा दौड प्रतियोगीता समेत हुने छ । गोरखा नगरपालिका–४ को पस्लाङ चौतारा देखि गोरखा दरवारसम्म (८ किलोमिटर दुरी) दौड हुने संघका बरिष्ठ उपाध्यक्ष भगवान बाबु मास्केले बताए । प्रतियोगीताको उपाधी बिजेतालाई म्यान अफ द गोरखा घोषित गरी नगद पुरस्कार प्रदान गरिने र बाजागाजा सहित नगर परिक्रमा गराइने उनले जानकारी दिए ।
महोत्सवमा करिव एक सय स्टल रहने छन् । उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था समेत गरिएको छ । स्टलमा फेन्सी आइटमले प्राथमिकता नपाउने बताइएको छ । महोत्सव सम्पन्न गर्नका लागी बिभिन्न समिति उपसमिति निर्माण भइसकेको संघले छ ।
महोत्सव स्थल प्रवेशका लागी सर्वसाधारणले एक सय रुपैया तिर्नुपर्ने छ भने बिद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई ५० रुपैया तिर्नुपर्ने छ । महोत्सव सम्पन्न गर्न करिव ५७ लाख लाग्ने अनुमान गरिएको छ ।
करिव ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकको छ ।



































