७ पुष, गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर ८ सिउरेनीटारमा लुगा धुने सावुन उद्योग संचालनमा आएको छ । स्थानीय शम्भु भुजेलले ६० लाख लगानीमा उद्योग संचालन गरेका हुन् ।
‘आफ्नै एक रोपनी जग्गामा उद्योग संचालन गरेको छु,’ उनले भने, ‘उत्पादन पनि शुरु भइसक्यो ।’ उद्योगको नाम त्रिशक्ति सावुन उद्योग राखिएको छ । उद्योगका लागी आवश्यक कच्चा पदार्थ काठमाण्डौबाट ल्याउने गरेको भुजेल बताउछन् । अहिले उद्योगमा उनकै घरपरिवारका सदस्यहरु काम गर्छन् । भुजेलकी श्रीमतीले सावुन बनाउने तालिम समेत लिइसकेकी छन् ।
उद्योगबाट दैनिक २४ सय सावुन उत्पादन गर्न सकिने भुजेलको भनाइ छ । ‘अहिले खासै राम्रोसँग उत्पादन शुरु गरेका छैनौ, अलिअलि मात्र हो, अव उत्पादन बढाउँदै लान्छौ,’ उनले भने । उत्पादित सावुन गोरखासँगै छिमेकी जिल्लमा धादिङ र तनहूँमा पनि बिक्री वितरणका लागी पठाइने उनले बताए । उत्पादित सावुन अन्यभन्दा गुणस्तर र सुपथ मूल्यको हुने उनले जानकारी दिए ।
‘अहिले गोरखामा बिराटनगर, कैलाली, बिरगंजबाट सावुन आउँछ, त्यहाबाट आउँदा ढुवानी खर्च पनि बढी लाग्छ, मेरो उद्योगमा उत्पादन भएको सावुनले अन्य सावुनले भन्दा धेरै लुगा धुन्छ अनि मूल्यपनि अरुभन्दा अलि सस्तो हुन्छ,’ उनले भने ।
उद्योगको वुधवार एक कार्यक्रमका बिच गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले उद्घाटन गरेका छन् ।



































