बैशाख ३०, गोरखा । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतगणनाका लागी जिल्लाको सबै पालिकामा मतगणना स्थल तयार गरिएको छ । एघार वटै पालिकामा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था गरेर स्थल तयार पारिएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जनाकारी गराएका छन् ।
गोरखा नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको हलमा हुने भएको छ । सो ठाउँमा तारजाली लगाएर तीन वटा सीसी क्यामेरा जडान गरिएको नगरपालिकाका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए । जेनेरेटर र माइकको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।
आरुघाट गाउँपालिकाको मतगणना वडा नम्वर ९ स्थित भिमोदय माध्यमिक बिद्यालयको भवनमा हुने भएको छ । मतगणना स्थलमा तारजाली लगाइएको र पाँच वटा सीसी क्यामेरा जडान गरिएको निर्वाचन अधिृकत श्रीधर गौतमले जानकारी दिए । एकै पटक तीन ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको उनले बताए ।
भीमसेन थापा गाउँपालिकाको मतगणनाका लागी खान्चोक स्थित गाउँपालिकाको प्रशासकिय भवनमा स्थल निर्माण गरिएको छ । तारजाली लगाएर चार वटा सीसी क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत खिमानन्द गौतमले बताए । उनका अनुसार एकै पटक चार ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको छ ।
अजिरकोट गाउँपालिकाको मतगणना गाउँपालिकाको प्रशासकीय भवनको हलमा हुने भएको छ । उक्त हलमा चार वटा सीसी क्यामेरा सहित तारजाली लगाइएको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए ।
शहिद लखन गाउँपालिकाको घैरुङ स्थित गाउँपालिकाको सभाहलमा मतगणना स्थल तयार गरिएको छ । चार वटा सीसी क्यामेरा जडान गरिएको छ । तारजाली लगाएर एकै पटक तीन ठाउँमा गणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले बताए ।
बारपाक सुलिकोट गाउँपालिकाको मतगणनाका लागी गाउँपालिकाको प्रशासकीय भवनको सभाहलमा तारजाली लगाएर स्थल निर्माण गरिएको छ । एकै पटकमा ६ ठाउँमा गणना गर्न मिल्ने गरी स्थल निर्माण गरिएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए । उनका अनुसार गणना स्थलमा ६ वटा सीसी क्यामेरा जडान गरिएको छ ।
गण्डकी गाउँपालिकाको मतगणना वडा नम्वर ६ भूम्लिचोक स्थित भवानी माविमा हुने भएको छ । बिद्यालयको कोठामा तारजाली लगाएर स्थल निर्माण गरिएको निर्वाचन अधिकृत बासुदेव रेग्मीले बताए । उनका अनुसार सीसी क्यामेरा भने बिहीवार जडान गरिने छ ।
सिरानचोक गाउँपालिकाको मतगणनाका लागी वडा नम्वर ५ स्थित चित्रेपोखरी माध्यमिक बिद्यालयको भवनमा स्थल निर्माण गरिएको छ । तारजाली लगाएर एकै पटक तीन ठाउँमा गणना गर्ने मिल्ने व्यवस्था गरिएको र सीसी क्यामेरा जडानको कार्य पनि भइरहेको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए ।
धार्चेको मतगणनाका लागी वडा नम्वर ५ माछीखोला स्थित जनजागृती माविमा स्थल निर्माण गरिएको छ । तारजाली लगाएर ६ वटा सीसी क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत निराज कुमार खत्रीले बताए ।
चुमनुव्री गाउँपालिकाको मतगणनाका लागी वडा नम्वर ३ फिलिम स्थित बुद्ध माविको भवनमा स्थल निर्माण गरिएको निर्वाचन अधिकृत नानीवाबु पोखरेलले बताए । उनका अनुसार स्थलमा आठ वटा सीसी क्यामेरा जडान गरिएको छ । तारजाली पनि लगाइएको उनले जानकारी दिए ।
पालुङटार नगरपालिकाले पनि मतगणना स्थल तयार भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



































