४ जेठ, गोरखा । २०३६ सालबाट उनको राजनीतिक यात्रा शुरु भएको थियो । गोरखा सदरमुकामको पाटेचौर स्थित शक्ति माविको कक्षा दशमा अध्ययनरत थिए उनी जति बेला नेकपा मसाल निकट अनेरास्ववियू छैठौबाट सदस्य लिएर राजनीतिक यात्रा शुरु गरे ।
२०४० सालमा नेकपा मसालको पार्टी सदस्य बने । २०४५÷४६ साल जतिबेला उनी आवद्ध पार्टी भूमिगत थियो, त्यसबेला पार्टीको इलाका सदस्य बनेका रानाले तत्कालिन द्धन्द्धको समयमा १५ महिना जेल जीवन पनि बिताए । ‘२०५८ साल मंसिर १७ गते जेल परे,’ उनले भने, ‘१५ महिना कठोर जीवन बिताए ।’
२०४९ सालमा अखिल नेपाल जनजाती महासंघ गोरखाको अध्यक्ष बनेका उनी जनयुद्धको क्रममा भूमिगत भएनन् तर पार्टीको बुद्धिजीवि सेलमा बसेर काम गरे । उनी २५ बर्ष शिक्षण पेशामा पनि आवद्ध भए । सो अवधिमा पनि उनी पार्टीको बिभिन्न संगठनमा बसेर राजनीतिक यात्रालाई अघि बढाइरहेका थिए ।
२०६२/६३ को जनआन्दोलनको दुई बर्षपछि २०६४ सालमा शिक्षण पेशा छाडेर उनी पार्टीको होल टाइमर कार्यकर्ता बने । इलाका सेक्रेटरी हुदै २०७३ सालमा उनी पार्टीको गोरखा नगर अध्यक्ष बने । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी गोरखा गरपालिकाको मेयरमा कांग्रेसका राजनराज पन्तसँग पराजित बनेका थिए । उनले ५ हजार २६ मत ल्याएका थिए भने पन्तले ६ हजार ५६० मत प्राप्त गरेका थिए । तर यसपटक भने नतिजा उल्ट्याउदै राना बिजयी भएका हुन् ।
मेयरमा निर्वाचित भएँसगै उनले गोरखालाई सुन्दर व्यवस्थित र बिकसित नगर बनाउने बताएका छन् । उनले पर्यटन, कृषि र पूर्वाधार बिकासमा जोड दिने बताए । ‘ऐतिहासिक नगर भएकाले पर्यटन प्रवद्र्धनमा जोड दिन्छु, कृषिलाई व्यवसायिकरण गर्दै परम्परागत कृषि प्रणालीको अन्त्य गर्दै पूर्वाधार बिकासलाई प्राथमिकता दिन्छु,’ उनले भने ।
गोरखा नगरपालिका–८ आमडाँडा घर भएका उनको पुख्र्यौली थलो भने गोरखा नगरपालिका वडा नम्वर ६ छहरे हो ।



































