९ जेठ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा होमबहादुर रानाले ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादीका दिपक तिमिल्सिनालाई पराजित गरेका थिए । तर, ५ वर्षपछि उनले एक हजार ६७१ मतान्तरले पराजित गरे । जबकी, अघिल्लो निर्वाचनमा तिमिल्सिना २७४ मतान्तरले पराजित भएका थिए ।
धार्चे गाउँपालिकामा पनि पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । अघिल्लो निर्वाचनमा नेकपा माओवादीका लक्ष्मण गुरुङ नेपाली कांग्रेसका सन्तबहादुर गुरुङसँग पराजित भएका थिए । तत्कालीन समयमा नयाँ शक्तिको प्रत्यासी रहेका लक्ष्मण पछि नेकपा माओवादीमा प्रवेश गरेर पालिका प्रमुखको टिकट पाए । उनले टिकटमात्रै पाएनन्, अघिल्लो पटक आफूलाई हराएका सन्तबहादुरलाई नै हराउँदै पालिका प्रमुखमा निर्वाचित भएका छन् ।
गोरखाकै गोरखा नगरपालिकामा पनि पुरानै अनुहारबीच प्रतिस्पर्धा भएको थियो । अघिल्लो पटक सँगै भिडेका नेकपा माओवादीका कृष्ण राना र नेपाली कांग्रेसका राजनराज पन्त यसपटक मुख्य स्पर्धामा थिए । रानालाई हराउँदै अघिल्लो पटक नगर प्रमुखमा पन्त निर्वाचित भए । तर, यसपटक रानाले पन्तलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् । रानाले ८ हजार ९६४ मत ल्याउँदा पराजित पन्तले ७ हजार १०८ मतमात्रै पाए ।
गोखराकै पालुङटार नगरपालिका नेपाली कांग्रेसका दीपकबाबु कँडेललाई नेकपा माओवादीका विवश चिन्तनले पराजित गरे । दुवै पुरानै प्रतिस्पर्धी हुन् । अघिल्लो पटक पहिलो बनेका कँडेल यसपटक तेस्रो बन्न पुगे ।
यसपटकको चुनावमा पालिका प्रमुखमा दोहोरिन चाहेकामध्ये पराजित हुनेमा गोरखा अग्रपंक्तिमा छ । गोरखाका ११ पालिकामध्ये ५ वटामा नेपाली कांग्रेसले उम्मेदवार दोहो¥याएको थियो ।
ती दोहोरिएका ५ प्रत्यासीलाई नेकपा माओवादी केन्द्रले हराउँदै गर्दा ४ जना अघिल्लै पटकका प्रतिस्पर्धी हुन् ।



































