१६ जेठ, गोरखा । उत्तरी गोरखाको पाङसिङसम्म सडक ट्रयाक खुलेको छ । गोरखा हुदै चाइना जोड्ने सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ३२ किलोमिटर ट्रयाक खुलिसकेको जानकारी गराएको छ ।
‘हावाडाँडाबाट ट्रयाक खन्न शुरु गरेका हौ,’ सडक निर्माण कार्यदलका प्रमुख मेजर बिनोद भट्टले भने, ‘अहिले फिलिमको पाङसिङसम्म पु¥याइसक्यौ ।’
ठाउँठाउँमा ब्लाष्टिङ गरेर सडक स्तरोन्नतीको काम पनि भइरहेको उनले बताए । सडकको लम्वाई आठ मिटर हुने बताइएको छ ।
नेपाली सेनाले २०७४ सालबाट सडक ट्रयाक खन्न शुरु गरेको हो । अहिले दोभानसम्म गाडी चल्न थालिसकेको मेजर भट्टले जानकारी दिए ।
‘दोभानसम्म सार्वजनिक यातायात नै चल्न थालिसक्यो, हामीलाई आवश्यक पर्ने सामाग्री लिएको गाडी स्याउली भट्टी इलाकासम्म पुग्छ, तर अरु गाडीलाई भने दोभानबाट उता जान दिएका छैनौ,’ उनले भने ।
आगामी बर्ष सिर्दिवासम्म गाडी पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ । बेनिघाट आरुघाट लार्केभन्ज्याङ सडक आयोजना अन्तरगत पर्ने उक्त खण्डको हावाडाँडा देखि लार्केभन्ज्याङसम्मको ९२ किलोमिटर सडक ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको हो ।
सडक निर्माणका लागी चालु आर्थिक बर्ष १५ करोड रकम विनियोजन भएको छ । उक्त सडकखण्डमा पर्ने माछाखोलामा बेलिब्रिज समेत राखिसकिएको मेजर भट्टले जानकारी दिए ।



































