२१ जेठ, गोरखा । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठवन्धनका दलहरुले इमान्दारिता नदेखाउँदा स्थानीय चुनावमा आफूहरुले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।
चुनावी समिक्षा कार्यक्रममा सहभागी हुन शनिवार गोरखा सदरमुकाम आएका भट्टराईले पत्रकारसँग कुराकानी गर्दै गठवन्धनका अन्य दलहरुले नैतिक आचरण विपरित काम गरेको आरोप लगाए ।
‘गठवन्धनको धर्म अनुसार एक पटक निर्णय गरेपछि त्यसलाई जसरी पनि कार्यान्वयन गर्नुपथ्र्याे,’ उनले भने, ‘तर त्यसो भएन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिक आचरण विपरित भयो, यसकै फलस्वरुप हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौ ।’
बिचार नमिल्ने शक्तिहरु बिच गठबन्धन हुदाँ पनि समस्या भएको उनले तर्क गरे । शेर बहादुर देउवा र प्रचण्डसँग गोरखाको स्थानीय तह भागवण्डामा सहमति गरेपनि कांग्रेसकै कारण कार्यान्वयन हुन नसकेको उनले बताए ।
‘गोरखाको एघार स्थानीय तहमध्ये कांग्रेसलाई पाँच, माओवादीलाई चार र जसपालाई दुई भनेर मैले फरमूला निकाले, शेर बहादुर र प्रचण्डले पनि हुन्छ भन्नुभयो तर कांग्रेसका साथीहरुको के बुद्धि बिग्रियो मान्नुभएन,’ भट्टराईले भने । एकीकृत समाजवादी पार्टीले पनि ढाटछल गरेको उनले आरोप लगाए ।
चुनावी तालमेल भएको ठाउँमा उनीहरुले जसपालाई कुनै पनि सहयोग नगरेको उनले बताए । संगठनात्मक कमजोरी र पार्टी भित्रकै अस्वस्थ प्रतिस्पर्धाका कारण पनि गोरखामा चुनाव हारेको उनले स्वीकार गरे ।



































