२४ जेठ, गोरखा । गोरखा नगरपालिका–८ पेट्रोल पम्पसँगै रहेको होण्डा हाउस प्रा.लि. गोरखाले निशुल्क शौचालय सेवा शुरु गरेको छ । प्रालिमा रहेको शौचालयलाई आम सर्वसाधारणले निशुल्क प्रयोग गर्न पाउने गरी सेवा शुरु गरिएको प्रालि गोरखाका संचालक रामहरी केसीले बताए ।
‘हाम्रो प्रालिको सोरुम रहेको घरमा दुई वटा शौचालय छन्,’ उनले भने, ‘ती दुवै शौचालय जो कोहीले पनि निशुल्क रुपमा प्रयोग गर्न पाउछन् ।’ बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म शौचालय प्रयोग गर्न सकिने उनले जानकारी दिए । शनिवारका दिन प्रालि बन्द भएपनि शौचालय खुल्ला रहने उनले बताए ।
यता गोरखा नगरपालिका–६ बसपार्कमा रहेको होलिडे बार एण्ड रेष्ट्रोले पनि निशुल्क रुपमा सार्वजनिक शौचालय सेवा शुरु गरेको छ । होटलमा रहेको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले निशुल्क प्रयोग गर्न मिल्ने व्यवस्था मिलाइएको उक्त होटलले जनाएको छ ।
काठमाण्डौ महानगरपालिकाका मेयर शाहको समर्थनमा मंगलवारबाट निशुल्क शौचालय सेवा शुरु गरिएको बताइएको छ ।
काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले केही दिन अघि मात्र होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतमा भएको शौचालय सार्वजनिक प्रयोगका लागी खुल्ला राख्न आव्हान गरेका थिए ।
काठमाण्डौका कतिपय होटल तथा रेष्टुरेष्टले आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागी खुल्ला गरिसकेका छन् । गोरखामा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।



































