३० जेठ, गोरखा । मापदण्ड विपरित प्रेसर हर्न जडान गर्ने सवारी साधनलाई कारवाही गर्न थालिएको छ । ध्वनी प्रदुषण नियन्त्रण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी र प्रहरी कार्यालय गोरखाले सोमवारबाट कारवाही अभियान थालेको हो ।
सोमवार एकैदिन ९५ वटा बस तथा ट्रकलाई कारवाही गरिएको जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले बताए । ‘ती सवारीलाई नियन्त्रणमा लिएर प्रेसर हर्न निकाल्यौ र जरिवाना पनि तिरायौ,’ उनले भने ।
अस्वभाविक रुपमा हर्न राख्ने र ध्वनी प्रदुषण हुने गरी बजाउने गरेको गुनासो बढेपछि कारवाही अभियान थालिएको उनले बताए । उनका अनुसार कार्यालयले सोमवार सवारी नियम उल्लघंन गर्ने सवारीलाई कारवाही गरी २५ हजार ५ सय राजश्व संकलन गरेको छ ।
मापदण्ड विपरित प्रेसर हर्न राख्ने, अनावश्यक लाइटहरु राख्ने, अतिरिक्त सिट राख्ने गरेको पाइएमा कडा कारवाही गरिने कार्यालयले चेतावनी दिएको छ ।



































