१ असार, गोरखा । विना अनुमति सामुदायिक वन क्षेत्रबाट सालको रुख काटेको आरोपमा भीमसेन थापा गाउँपालिकाका पुर्व अध्यक्ष इश्वर पाण्डे सहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भीमसेन थापा चक्रपथ निर्माणको लागी भन्दै विना अनुमति सालका रुखहरु काटेको भन्दै उजुरी परेपछि उनीहरु बिरुद्ध कारवाही प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
भीमसेन थापा चक्रपथ निर्माणको लागी भन्दै उनीहरुले वडा नम्वर ८ स्थित भवानी सामुदायिक वन क्षेत्रबाट १ सय ३९ वटा सालको रुख काटेको खुल्न आएको अनुसन्धान अधिकृत सुरेश कुमार भुजेलले बताए । ‘हाम्रो कार्यालय मात्र होइन सम्बन्धित सामुदायिक वन उपभोक्त समूहको पनि सहमति रहेनछ,’ उनले भने, ‘कार्यालयमा उजुरी परेपछि हामीले अनुसन्धान थालेका हौ ।’
गाउँपालिका पुर्व अध्यक्ष पाण्डे सहित वन उपभोक्ता समूहका अध्यक्ष राम ढकाल, सचिव हर्क बहादुर खत्री, सहसचिव टेक बहादुर गुरुङ, स्थानीय मान बहादुर गुरुङ र कृष्ण बहादुर भट्ट बिरुद्ध पक्राउ पुर्जी जारी भएको उनले जानकारी दिए ।
उपभोक्ता समूहका अध्यक्ष राम ढकाललाई पक्राउ गरिसकिएको र बाँकीको खोजी कार्य जारी रहेको उनले बताए । ‘उजुरी परेपछि हामीले सम्पर्कमा आउनु भनेर समितिलाई पत्राचार ग¥यौ तर सम्पर्कमा नआएपछि अदालतको सहमति लिएर पक्राउ पुर्जी जारी गरेका हौ,’ उनले भने । उनीहरुलाई वन ऐन २०७६ अन्तरगत बिगोको दोव्वर जरिवाना वा दुई बर्ष कैद वा दुवै सजाय हुनसक्ने अनुसन्धान अधिकृत भुजेलले जानकारी दिए ।
समितिका पदाधिकारीको हकमा २० हजार जरिवाना र एक बर्ष कैद सजाय थप हुन सक्ने बताइएको छ । विना अनुमति काटिएका रुखहरुमध्ये केही बरामद गरिएको र केही वन क्षेत्रमै रहेको कार्यालयले जनाएको छ ।
‘चिरान गरिएका केही काठहरु हामीले बरामद गरिसक्यौ, केही काठहरु वन क्षेत्रमै छन्,’ अनुसन्धान अधिकृत भुजेलले भने ।



































