५ असार, गोरखा । जिल्लाका तरकारी उत्पादक कृषकलाई प्रोत्साहन रकम वितरण गरिएको छ । तरकारी खेती गरेको क्षेत्रफलको आधारमा रकम वितरण गरिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
यो बर्ष तरकारी खेति गर्ने जिल्लाका दुई सय ५० कृषकले प्रोत्साहन रकम पाएका छन् । गण्डकी, शहिद लखन, गोरखा र पालुङटार नगरपालिकाका किसानलाई प्रति रोपनी तीन हजारका दरले जनही ६ हजार रकम वितरण गरिएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए ।
‘गत बर्ष तरकारी खेती भएको क्षेत्रफल जति छ त्यति कै दरले रकम दिएका थियौ,’ उनले भने, ‘तर यो बर्ष रकम थोरै आएकाले छनोट भएका किसान सबैलाई दुई रोपनी बराबरको रकम मात्र दिएका हौ ।’ उनका अनुसार यस बर्ष १५ लाख रकम मात्र आएको थियो । कुल ९ सय ७७ किसानले निवदेन दिएका थिए ।
क्षेत्रफलको आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग वितरण कार्यक्रम अन्तरगत रकम वितरण भएको कार्यालयले जनाएको छ । गत बर्ष रकम पाएका वाहेक अन्य किसानलाई यस बर्ष छनोट गरिएको बताइएको छ ।



































