९ असार, गोरखा । करिव दश हेक्टर क्षेत्रफल सिंचित गर्ने उदेश्यका साथ उत्तरी गोरखामा थेराङ–प्रोक–नाम्रुङ सिंचाइ योजना निर्माण भइरहेको छ । हालसम्म करिव ७५ प्रतिशत काम सम्पन्न भएको जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय गोरखाले जनाएको छ ।
योजना अन्तरगत इन्टेक ट्यांकी, पाइप प्रेसर ट्यांकी र रिजर्भ ट्यांकी निर्माण भइसकेको कार्यालयका इन्जिनिरय बिष्णुहरी अधिकारीले बताए । ‘नाम्रुङमा ४८ हजार लिटर क्षमताको रिजर्भ ट्यांक बनेको छ,’ उनले भने, ‘नाम्रुङ खोलाको मुहानबाट पानी ल्याएर त्यहा संकलन गरेका छौ ।’
वस्ती बाहेकका अन्य खेतियोग्य जमिन सिंचित गर्न शुरु भइसकेको उनले जानकारी दिए । उक्त योजनाबाट जगत, सल्लेरी, पेवा र नाम्रुङ क्षेत्रका जमिनमा सिंचाइ सुविधा पुग्ने बताइएको छ ।
योजनाको कुल लागत ६५ लाख रहेको कार्यालय प्रमुख प्रकाश लम्सालले बताए । ‘यो क्रमागत योजना हो, अघिल्लो बर्ष ३० लाख रकम विनियोजन भएको थियो, गत बर्ष १२ लाख भयो, यो बर्ष पाँच लाख भएको छ,’ उनले भने । कार्यालयको सिंचाइ योजना निर्माण कार्यक्रम अन्तरगत सो क्षेत्रमा सिंचाइ योजनाको काम अघि बढेको उनले जानकारी दिए ।



































