११ असार, गोरखा । सिरानचोक गाउँपालिका वडा नम्वर ४ का कृषकहरुलाई बंगुर र बाख्राको पाठापाठी वितरण गरिएको छ । विपन्न वर्गलाई लक्षित गरी ९० प्रतिशत अनुदानमा पाठापाठी वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जनाएको छ ।
कुल ४१ जना कृषकहरु लाभान्वित भएको कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताइन् । ‘३२ जनालाई दुई वटाका दरले बाख्राका पाठापाठी वितरण ग¥यौ, उनले भनिन्, ‘नौ जनालाई एक/एक वटा बंगुरको पाठापाठी दियौ ।’
उनीहरुलाई बाख्रा र बंगुर पालनसँगै आयआर्जन बढाउने सम्बन्धि तालिम पनि दिइएको उनले जानकारी दिइन् । ‘विपन्न वर्गको जिविकोपार्जनमा सुधार गर्ने कार्यक्रमको उदेश्य हो, त्यही अनुसार हामीले वस्ती छनोट गरेर कार्यक्रम संचालन गरेका हौ,’ उनले भनिन् ।
समुदाय छनोटका लागी कार्यालय प्रमुखको संयोजकत्वमा सात सदस्यीय समिति समेत रहेको उनले बताइन् । आरुघाट गाउँपालिकाको वडा नम्वर ४ र भीमसेन थापा गाउँपालिकाको वडा नम्वर ६ मा पनि उक्त कार्यक्रम संचालन गरिने कार्यालयले जनाएको छ ।



































