१२ असार, गोरखा । आइतवार बिहानको बर्षाले पालुङटार नगरपालिका–९ स्थित खारखोलामाथिको पुलमा क्षति पु¥याएको छ । पानीको बहाव बढेर खोलाले पुलको एकातर्फको भागमा कटान गरेको छ ।
सो पुलमा अहिले आउजाउ बन्द रहेको स्थानीय दिपक अधिकारीले बताए । ‘खोलाले पुलको एकातर्फको भाग कटान गरेको छ,’ उनले भने, ‘पुलमा समेत क्षति पुगेकाले आउजाउ गर्न सक्ने अवस्था छैन ।’ उनका अनुसार सो पुल हुदै धर्माेदय माध्यमिक बिद्यालयमा अध्ययनरत करिव एक सय भन्दा बढी बिद्यार्थी आउजाउ गर्ने गर्छन् ।
पारिडिहिका स्थानीयलाई बिर्दि बजार आउन पनि सोही पुल प्रयोग गर्नुपर्ने बाध्यता छ । पुलमा क्षति पुगेर आवतजावत रोकिँदा स्थानीय समस्यामा परेका छन् । बेलैमा तारजालीको व्यवस्था गरेर कटान क्षेत्रलाई संरक्षण गर्न सके पुल जोगिन सक्ने स्थानीयले बताएका छन् ।
पुलको स्थलगत निरिक्षण गरेर मर्मत तथा संरक्षणका लागी आवश्यक पहल गर्ने वडाध्यक्ष भेजराज पाण्डेले बताए । चार बर्ष अघि नगरपालिका र वडाको बजेटले पुल निर्माण गरिएको उनले जानकारी दिए ।



































