२७ असार, गोरखा । जिल्लामा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गत तीन महिनायता महिनैपिच्छे सर्पदंशका बिरामीको संख्या बढेको गोरखा अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बैशाख महिनामा सर्पदंशका दुई जना बिरामी उपचारका लागी आएका थिए । जेठ महिनामा संख्या बढेर सात पुगेको छ ।
‘असार महिनाको आजसम्म सर्पले टोकेका आठ जना उपचार गर्न आइसक्नुभयो,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘अझै बढ्न सक्ने सम्भावना छ ।’
जेठ, असार र साउन महिनामा सर्पदंशका बिरामी बढ्ने गरेको उनले जानकारी दिए ।
६० प्रतिशत बिरामी रिफर
सर्पदंशले टेकेका बिरामीमध्ये अधिकांश रिफर हुने गरेका छन् । अस्पतालमा आवश्यक उपचार हुन नसकेपछि अन्य जिल्लामा रिफर हुनुपर्ने बाध्यता उनीहरुलाई छ ।
उपचारका लागी आएका सर्पदंशका बिरामीमध्ये ६० प्रतिशतलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । ‘बिषालु सर्पले टोक्दा एन्टि स्नेक भेन चलाउनुपर्छ तर त्यो हामीले गरेका छैनौ, त्यसका लागी हामीसँग दक्ष स्वास्थ्यकर्मी पनि छैनन्,’ उनले भने ।
स्वास्थ्यकर्मीलाई तालिम उपलब्ध गराउन माग गर्दै आएको उनले बताए ।



































