१ साउन, गोरखा । आकाशे पानी भरिएको खाडलमा फसेका एक युवकको करिव १२ घण्टापछि उद्धार भएको छ । शनिवार राती दश बजेदेखि खाडलमा फसेका गोरखा नगरपालिका–९ का दिनेश परियारको आइतवार बिहान उद्धार भएको हो ।
‘गोरखा नगरपालिका वडा नम्वर १० को ठुटेबजार नजिकै आकाशबाट परेको पानी भरिएर सानो तालजस्तो बनेको रहेछ,’ वडा नम्वर १० का अध्यक्ष प्रदिप कुवँरले भने, ‘त्यही ताल आसपास ग्याविन जालि लगाएको रहेछ, त्यही जालीमा खुट्टा अड्किएर ती युवक फसेका रहेछन् ।’
बिहान स्थानीयले खवर गरेपछि प्रहरी प्रशासन र स्थानीयको सहयोगमा युवकको उद्धार गरिएको उनले बताए । जेसिभिद्धारा तालको पानी हटाएर उक्त युवकलाई उद्धार गरिएको उनले जानकारी दिए ।
उद्धार पश्चात परियारको छेवेटार स्थित पृथ्वी नारायण सामुदायिक अस्पतालमा सामान्य उपचार गरी आफन्तलाई जिम्मा लगाइएको छ ।
ती युवकका लागी आफूले कपडा समेत किनिदिएको वडाध्यक्ष कुवँरले जानकारी दिए ।



































