८ साउन, गोरखा । कोभिड–१९ बिरुद्धको खोप नलगाएका जिल्लावासीहरुको पहिचान गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले खोप नलगाउनेहरुको पहिचान गरी खोप लगाउने वातावरण मिलाउन निर्देशन दिएको हो ।
समितिको आइतवार बसेको बैठकले स्थानीय तहसँग आवश्यक समन्वय गरी खोप कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न पनि कार्यालयलाई भनेको छ ।
खोपको पूर्ण तथा अतिरिक्त मात्रा लगाउन छुट भएका व्यक्तिहरुका लागी खोप अभियान संचालन गर्न भनिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
‘कोभिड बिरामीहरुको उपचारका लागी अहिलेलाई कम्तिमा पाँच वेड छुट्याएर राख्न गोरखा अस्पतालाई भनेका छौ,’ उनले भने, ‘आवश्यकता अनुसार त्यसलाई बिस्तार गर्दै लैजान्छौ ।’
विगतमा संचालन भएका आइसोलेसन सेन्टर तथा अस्थायी कोभिड अस्पतालाई तयारी अवस्थामा राखी उपचारको व्यवस्था मिलाउन समेत आग्रह गरिएको उनले जानकारी दिए । उनका अनुसार कोभिड परिक्षणको दायरालाई बढाउन पनि आग्रह गरिएको छ ।
सरकारी कार्यालय र सार्वजनिक स्थलमा मास्क अनिवार्य
कोभिडको संक्रमण जोखिम बढेसँगै स्वास्थ्य सुरक्षा मापदण्डमा पनि कडाइ गरिएको छ । सरकारी कार्यालय तथा सार्वजनिक स्थल प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ । प्रवेशद्धारमा स्यानिटाइजर अनिवार्य राख्न कार्यालयहरुलाई निर्देशन समेत दिइएको छ ।



































