९ साउन, गोरखा । राष्ट्रिय परिचयपत्र बनाउनका लागी अव जिल्ला प्रशासन कार्यालय धाउनु नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले पालिकाको प्रत्येक वडामा परिचयपत्रको लागी विवरण दर्ता अभियान संचालन गर्न लागेको छ ।
बिभागको आयोजनामा सोमवार जिल्ला प्रशासन कार्यालयमा अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत भएको छ । कार्यक्रममा प्रत्येक स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख , पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बिभागका महानिर्देशक तिर्थराज भट्टराईले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले छिट्टै जिल्लामा परिचयपत्रका लागी विवरण दर्ता अभियान संचालन गर्ने बताए । ‘सम्भवतः यो हप्ताभित्रै अभियान शुरु गर्छाै,’ उनले भने, ‘प्रत्येक पालिकाको वडा–वडामा स्टेशन राखेर विवरण दर्ताको काम हुन्छ ।’ एउटा वडामा दुई वटा स्टेशन राखिने जानकारी दिदै उनले थपे, ‘एउटा वडाको काम दश दिनमा सक्ने लक्ष्य लिएका छौ ।’
उनका अनुसार एक पटकमा दुई पालिकामा अभियान संचालन हुनेछ । अभियानका लागी आवश्यक कम्प्यूटर अपरेटर बिभागले पठाउने छ भने रुजुका लागी सम्बन्धित वडाको सचिव खटिने छन् ।
विवरण दर्ताका लागी आवश्यक जनशक्ति सम्बन्धित स्थानीय तहले गर्ने बताइएको छ । ‘पालिकामा संचालन हुने अभियानमा विवरण दर्ता मात्र हुन्छ, ती विवरण यहाँ ल्याएर परिचयपत्र नम्वर हामी यही प्रशासन कार्यालयमा जेनेरेट गर्छाै,’ उनले भने ।
तत्काल परिचयपत्र आवश्यक पर्नेहरुले भने प्रशासन कार्यालयमा आएर बनाउन सक्ने उनले जानकारी दिए ।
पालिकाहरुमा अभियान संचालनको क्रममा पनि प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको काम नियमित भइरहने कार्यालयले जनाएको छ ।



































