१ भदौ, गोरखा । गोरखा संग्रहालय आउने पर्यटकले अव प्रतिविम्वको रुपमा राजा पृथ्वी नारायण शाह बनेका व्यक्तिसँग सेल्फी लिन पाउने भएका छन् । गोरखा नगरपालिका–६ का ओम बहादुर श्रेष्ठलाई राजा पृथ्वी नारायण शाह बनाएर राखिएको छ ।
उनी राजा शाहको भेषभूषामा सजिएर तरवार सहित संग्रहालय परिसरमा बस्ने छन् । संग्रहायल परिसर आउने पर्यटकले उनीसँग सेल्फी लिन सक्ने ऐतिहासिक क्षेत्र संरक्षण बिकास समिति गोरखाले जनाएको छ । पर्यटकलाई थप केही समय जिल्लामा भुलाउने र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अभियान थालिएको समिति अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।
‘आज औपचारिक रुपमा ‘प्रतिविम्वमा पृथ्वी नारायण शाह’ भन्ने कार्यक्रमको आरम्भ ग¥यौ,’ उनले भने, ‘अव यसले निरन्तरता पाउछ ।’ उनका अनुसार बिहान दश देखि ५ बजेसम्म श्रेष्ठ राजाको भेषभूषामा सजिएर संग्रहालय परिसरमा बस्छन् ।
सेल्फी खिच्न चाहनेले शु्ल्क पनि तिनुपर्ने समिति सल्लाहकार एवं अभियान संयोजक राजुबाबु श्रेष्ठले बताए । जिल्लाभित्रका व्यक्तिका लागी २०, जिल्ला बाहिरका पर्यटकका लागी ५० र सामूहिक तस्विर खिचाउन चाहनेले एक सय रुपैया तिनुपर्ने उनले जानकारी दिए ।

इच्छुक पर्यटकले पृथ्वी नारायण शाहको पोशाक लगाएर फोटो समेत खिच्न सक्ने बताइएको छ । त्यसका लागी प्रति व्यक्ति तीन सय रुपैया शुल्क तिर्नुपर्ने छ । जिल्ला आउने पर्यटकलाई घोडा सवारको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।
राज्य एकीकरणको अभियानमा राजा पृथ्वी नारायण शाहले गरेको योगदान र उनले राज्य गरेको गोरखा दरवारको इतिहास प्रचास प्रसारकासँगै संरक्षणमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ । समितिको आयोजनामा भएको कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, जनप्रतिनिधी, स्थानीय लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै मेयर रानाले जिल्लाको पर्यटन प्रवद्र्धनका आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए । अभियानका लागी गोरखा नगरपालिकाले एक लाख रकम विनियोजन गरेको समेत उनले जानकारी दिए ।
कार्यक्रम पूर्व प्रतिविम्वको रुपमा पृथ्वी नारायण शाह र कालु पाण्डे बनेका व्यक्तिहरु सहित सदरमुकाममा प्रभातफेरी गरिएको थियो ।




































