१८ भदौ, गोरखा । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टाराईलाई नेपाल पत्रकार महासंघ (तत्कालिन नेपाल पत्रकार संघ) को संस्थापक सभापति मान्दै आएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आपत्ति जनाएको छ ।
महासंघको संस्थापक सभापति सत्यनारायण श्रेष्ठ भन्ने कुराको पुष्टी भइसकेको अवस्थामा भट्टराईलाई संस्थापक अध्यक्ष मान्नु गलत भएको फोनिजले जनाएको छ । पत्रकार महासंघ गोरखा शाखा मार्फत केन्द्रलाई ज्ञापन पत्र बुझाउदै फोनिज जिल्ला समिति गोरखाले महासंघले आफ्नो दस्तावेजमा भट्टराईलाई संस्थापक अध्यक्ष भनी उल्लेख गरेका गलत विवरण सच्याएर श्रेष्ठ बनाउन पनि आग्रह गरेको छ ।
‘देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मान्नु उहाँको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु पनि हो ।
यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने बिषयमा फोनिज सचेत छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
फोनिज जिल्ला अध्यक्ष सुशिलबाबु श्रेष्ठ (कैलाश) ले पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा मार्फत केन्द्रमा ज्ञापन पत्र बुझाएका हुन् ।



































