२७ भदौ, गोरखा । चाडवाड नजिकिएसँगै जिल्लामा बजार अनुगमन शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको संयोजनमा रहेको जिल्ला बजार अनुगमन समितिले शुक्रवार बजार अनुगमन गरेको हो ।
पेट्रोल पम्पदेखि हरमटारीचोकसम्म रहेका किराना पसल, होटल, रेष्टुरेष्ट, मासु पसल, वर्कशप लगायतका करिव ४० वटा पसल अनुगमन गरिएको समिति संयोजक सूर्य भुजेलले बताए । अनुगमनका क्रममा केही व्यवसाय बिना दर्ता संचालन भएको पाइएको उनले जानकारी दिए ।
‘दर्ता नभइ संचालन भएका पसलहरु हामीले तत्काल बन्द गरायौ,’ उनले भने, ‘दर्ता गरेपछि मात्र संचालन गर्न भनेर निर्देशन पनि दिएका छौ ।’ त्यस्तै केही व्यवसायीहरुले फर्म नविकरण नगरेको र अधिकांशमा मूल्य सूचि नभएको पाइएको उनले बताए । नविकरण नभएका फर्मलाइ नविकरण गर्न र मूल्य सूची नभएकाहरुलाइ तीनदिन भित्र मूल्य सूचि टाँस गर्न समितिले निर्देशन दिएको छ ।

अनुगमनका क्रममा समितिले सन्तुलन नभएको भन्दै तौल जोख्ने फलामे काँटा समेत जफत गरेको छ । घरेलु कार्यालयको आर्थिक बर्ष २०७९÷८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत बजार अनुगमन गरिएको हो ।
अनुगमन समितिमा गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय लगायतका पदाधिकारीको सहभागीता रहेको थियो ।



































