३१ भदौ, गोरखा । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी गोरखामा मतदानस्थलको संख्या थप गरिएको छ । निर्वाचन आयोगले सात वटा नयाँ मतदान स्थल थप गरेको हो । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लाभर २ सय १५ मतदान स्थल रहेको थियो । नयाँ थप भएसँगै अव २ सय २२ मतदान स्थल रहने छन् ।
चुमनुव्री गाउँपालिका–३ पाती स्थित फिलिम आधारभूत बिद्यालय, सरस्युङ स्थित सिदुङ आधारभूत बिद्यालय, धार्चे गाउँपालिका वडा नम्वर ३ को दुङला आधारभूत बिद्यालय र वडा नम्वर ७ खानीगाउँ स्थित गोरखनाथ आधारभूत बिद्यालयमा नयाँ मतदान स्थल थप भएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।
उनका अनुसार शहिद लखन गाउँपालिका वडा नम्वर २ डाडाँगाउँ स्थित बनौती आधारभूत बिद्यालय र तिउरेभन्ज्याङ स्थित बक्रेश्वरी आधारभूत बिद्यालयमा पनि नयाँ मतदान स्थल थप भएको छ ।
१७ वटा मतदान स्थललाई अन्यत्र सारिने भएको छ । चुमनुव्री गाउँपालिकाका ६ वटा, धार्चे गाउँपालिकाका ५, गोरखा नगरपालिका र आरुघाट गाउँपालिकाका २÷२ वटा मतदान स्थललाई अन्यत्र सारिने भएको हो । त्यस्तै गण्डकी र भीमसेन थापा गाउँपालिकाको १÷१ वटा मतदान स्थललाई पनि अन्यत्र सार्ने निर्णय भएको सुवेदीले जानकारी दिए ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको साउन महिनामा बसेको बैठकले साट वटा मतदान स्थल थप गर्नका लागी निर्वाचन आयोगमा सिफारिस गरेको थियो । सोही अनुसार निर्वाचन आयोगले निर्णय गरेको हो ।



































