१० असोज, गोरखा । चुमनुव्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको ज्यान गएको छ भने करिव १५ जना घाइते भएका छन् । हिमाल आरोहणका लागी बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
‘चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको रहेछ,’ उनले भने, ‘त्यही पहिरोमा उहाँहरु पर्नुभएछ ।’ मानविय क्षतिबारे एकीन विवरण भने आइनसकेको जानकारी दिदै उनले उद्धारमा समस्या भएको बताए ।
‘घटनाबारे खवर आउने वित्तिकै हामी उद्धारका लागी पहल गरिरहेका छौ, सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागी उडेपनि मौसम प्रतिकुल भएका कारण बेसक्याम्पमा ल्याण्ड गर्न सकिरहेको छैन,’ उनले भने । प्रहरी पनि बेसक्याम्पसम्म पुग्न सम्भव नभएकाले घटनाबारे एकीन विवरण पाउन मुश्किल भएको उनको भनाइ छ ।
पर्यटन बिभागकी शाखा अधिकृत एशोधा अर्यालसँग आफूहरुले जानकारी लिइरहेको बताउदै प्रजिअ आचार्यले मनाङको भिमथाङमा पनि एक जना बिदेशी नागरिक हराएको खवर आएको जानकारी दिए ।



































