१५ असोज, गोरखा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतसँगै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को कार्यालय स्थापना गरिएको हो ।
त्यस्तै गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय गोरखा इकाइको भवनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माले पाएका छन् । उनले निर्वाचन क्षेत्र नम्वर १ समेत हेर्ने छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको जिम्मेवारी नारद प्रसाद भट्टराईलाई दिइएको छ ।

शनिवार एक कार्यक्रमका बिच दुवै कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शर्मा, निर्वाचन क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत भट्टराई, जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला निर्वाचन कार्यालय प्रमुख टेक बहादुर कोइराला, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमकै अवसरमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता बारे जानकारी समेत गराइएको छ ।



































