२८ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत स्थानीय तहको निर्वाचनको मतपरिणाम देखेर आफूले गोरखामा उम्मेदवारी दिएको बताएका छन् ।
शुक्रवार गोरखाको पाटेचौर स्थित पार्टी कार्यालयमा आयोजित निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह निर्वाचनमा गोरखाका अधिकांश पालिका माओवादीले जितेका कारण पनि आफू गोरखा आउने वातावरण बनेको बताए । गत स्थानीय तह निर्वाचनमा गोरखाका ११ पालिकामध्ये नौ पालिका माओवादी केन्द्रले जितेको छ ।
‘गत स्थानीय तह निर्वाचनको ब्याटलमा तपाईहरुले (कार्यकर्ता प्रति इंकित गर्दै) जस्तो परिणाम निकाल्नुभयो, म गोरखा आउनुमा एउटा कारण त्यो पनि हो,’ उनले भने, ‘तपाइहरु सबै चुनाव हारेको भए म यहाँ आउने वातावरण बन्थ्यो की बन्दैन्थ्यो ? पालिका हारेको ठाउँमा अध्यक्ष के आउने भन्ने पथ्र्याै की !’
पेचिलो परिस्थिती, जटिलता र प्रतिक्रियावादीको गतिविधिको सुक्ष्म अध्ययन गरेर हेडक्वाटरको बिशेष टिमको छलफलले गोरखा जानु उपयुक्त ठानेपछि गोरखामा चुनाव लड्न आएको उनले जानकारी दिए । ‘बिशेष गरी हाम्रो उपाध्यक्ष कम्रेड नारायणकाजी श्रेष्ठ र म बसेर छलफल गर्दा गोरखा जानु नै ठिक छ, रुपान्तरणको निम्ति नयाँ आधार खडा गर्न सकिन्छ भन्ने लाग्यो, गोरखा जानुपर्छ भनेर नेतृत्व तहले पनि भन्यो, तपाईहरुले पनि आइदिनुप¥यो भन्नु भयो सबै तालमेल मिलेको हो,’ प्रचण्डले भने ।
पहिले गोरखा–१ बाट नाम सिफारिस आएपनि निर्वाचन क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिएको उनले बताए । ‘गोरखा आउनुप¥यो भनेर सबैभन्दा पहिले गोरखा–१ बाट सिफारिस आएको हो, १ नम्वरका साथीहरुले बढी भन्नुभएको मैले सम्झिरहेको छ, तर पछि विविध कारणले २ नम्वरमा अलि सजिलो हुन्छ भनेर कमरेडहरुले भनेपछि म २ मा आएको हुँ, तर मलाई १ वा २ नम्वरमा नसोचेर समग्र गोरखा जिल्लामा आएको सम्झिदिनुहोला,’ उनले भने ।
आफू गोरखा आउनु नै मुख्य कुरा रहेको उनको भनाइ छ ।



































