४ कात्तिक, गोरखा । गोरखामा राती ९ बजेपछि देउँसी भैलो खेल्न नपाइने भएको छ । बिहीवार सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालयले राती ९ बजेसम्म मात्र देउँसी भैलोका कार्यक्रम संचालन गर्न आग्रह गरेको छ ।
पटका, आतसवाजी, झिरझिरे, भूइचम्पा जस्ता बिष्फोटक पदार्थ प्रयोगलाई पनि प्रशासनले निषेध गरेको छ । त्यस्ता पदार्थ निकासी, ओसार प्रसार र बिक्री वितरण गरेमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । जुवातास र कौडा खेलेको पाइएमा पनि कानूनी कारवाही गरिने उनले चेतावनी दिएका छन् ।
‘बजारमा अखाद्य रंग मिलाएका खाद्य पदार्थ उत्पादन र म्याद गुज्रिएका कमसल खाद्य बस्तु बिक्री वितरण नगर्न पनि भनेका छौ,’ प्रजिअ आचार्यले भने, ‘तोकिएको भन्दा बढी मूल्न नलिन पनि सचेत गराएका छौ ।’
सार्वजनिक सवारी साधानहरुमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी यात्रु नराख्न पनि भनिएको छ । ‘यी सबै कुरामा हामीले सचेत गराएका छौ, निगरानीसँग अनुगमन पनि बढाउछौ, त्यस्तो भेटिएमा कारवाही गर्छाै,’ प्रजिअ आचार्यले भने ।



































