२० कात्तिक, गोरखा । गोरखा नगरपालिका–१३ स्थित ऐतिहासिक र धार्मिक स्थल रामशाह घाटको संरक्षणमा स्थानीय जुटेका छन् । दरौदी र मस्र्याङदी नदी दोभानमा रहेको सो क्षेत्र संरक्षणका लागी बिभिन्न कामहरु गरिएको दरौदी मस्र्याङदी दोभान वातावरण संरक्षण समितिले जनाएको छ ।
‘घाटसम्म जाने बाटो राम्रो थिएन,’ समिति अध्यक्ष प्रकाश अधिकारीले भने, ‘हामीले ढलान गरेर सिढी लगायौ अनि रेलिङ हाल्यौ ।’ नदीले कटान गरेको र गर्न सक्ने जोखिम क्षेत्रमा टेवा पर्खाल समेत लगाइएको उनले जानकारी दिए । उनका अनुसार हाललाई ७८ मिटर लामो टेवा पर्खाल लगाइएको छ । घाट क्षेत्रमा शौचालय, वत्ति र खानेपानीको व्यवस्था पनि गरिएको छ ।
शव दोहनका लागी सुपथ मूल्यमा घाटमै दाउरा पाइन्छ । समिति सदस्य लोक बहादुर लाय मगरले सुपथ मूल्यमा दाउरा उपलब्ध गराउँदै आएका छन् । ‘मेरो फर्निचर पनि छ, यहाँ शव जलाउनका लागी प्रति किलो १४ रुपैयामा दाउरा दिन्छु, त्यसमध्ये प्रति किलो दुई रुपैयाका दरले समितिलाई बुझाउछु,’ उनले भने ।
असहाय र विपन्नका लागी भने दाउरा निशुल्क उपलब्ध गराउदै आएको उनले जानकारी दिए । समितिका अनुसार घाट क्षेत्र संरक्षणका कामहरु अधुरै छन् । ‘एकै पटक चार÷पाँच वटा लाश जलाउन मिल्ने आधुनिक शव दोहन स्थल बनाउनु आवश्यक छ,’ समिति अध्यक्ष अधिकारीले भने, ‘बर्षाको समयमा मलामी ओत लाग्ने ट्रष्ट छैन ।’
क्रियापुत्री भवन र रामशाहको समाधी स्थल समेत निर्माण गर्ने योजना रहेको बताउँदै उनले थपे, ‘राजा रामशाह मर्नु भन्दा एक हप्ता अगाडी यहाँ आएर बसेको र यही प्राण त्याग गरेको भन्ने छ, त्यसैले देवघाटपछिको पुण्यघाटको रुपमा यो रामशाह घाटलाई मानिन्छ ।’ गोरखा नगरपालिकाका अधिकांश वडाबाट शव दोहनका लागी यस घाटमा ल्याउने गरिन्छ ।
घाटको संरक्षण गर्न सके मलामीहरुलाइ पनि सहज हुने समितिको भनाइ छ । योजना अनुसार काम गर्नका लागी करिव आठ करोड लाग्ने अनुमान गरिएको छ । ६० लाख खर्चेर सो क्षेत्र आसपास ओमकारेश्वर शिव मन्दिर समेत निर्माण भएको छ । पर्यटन मन्त्रालयको नाममा रहेको करिव पाँच रोपनी जग्गामा मन्दिर र एक सय आठ वटा शिवलिङ्ग निर्माण गरिएको समिति अध्यक्ष अधिकारीले बताए ।
‘मेन गेट राखेर कम्पाउण्ड पनि गरेका छौ, यो सबै खर्च २०७४ साल कात्र्तिक ६ देखि १३ गतेसम्म सप्ताह लगाएर संकलन भएको रकमबाट गरेका हौ,’ उनले भने । बर्षेनी नगरपालिकाबाट केही रकम समेत विनियोजन हुदै आएको उनले जानकारी दिए । मन्दिर क्षेत्र आसपास रहेको एक सय ७३ बर्ष पुरानो लक्ष्मी नारायण मन्दिरको पनि पुनर्निर्माण भएको छ ।
पुरातत्व बिभागले पहिलेकै स्वरुपमा मन्दिर पुनर्निर्माण गरेको हो । सो धार्मिक क्षेत्रमा जनैपूर्णिमामा जनै मन्तर्ने, शिवरात्रीमा ध्वनी जगाएर रातभर जाग्राम बस्ने र हरिवोधनी एकादशीमा सत्यनारायण पुजा गर्ने प्रचलन समेत रहदै आएको छ ।
सो क्षेत्र संरक्षणका लागी सहयोग गरिदिन समितिले आग्रह समेत गरेको छ । वडा नम्वर १३ की अध्यक्ष मित्रा परियारले वडाको तर्फबाट २५ हजार रकम विनियोजन गर्ने प्रतिवद्धता जनाएकी छन् ।



































