२ मंसिर, गोरखा । आसन्न निर्वाचनलाई लक्षित गरी गोरखामा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । शुक्रवार बसेको सर्वपक्षिय बैठकले आजै (शुक्रवार) बाटै लागू हुने गरी मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण गर्न नपाइने गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
बैठकले मतदानको दिन मतदान केन्द्रमा मतदाता वाहेक अन्य अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न नदिने निर्णय गरेको छ । यसका लागी आवश्यक पहल र सहयोग गरिदिन राजनीतिक दल एवं उम्मेदवारका प्रतिनिधिहरुलाई आग्रह समेत गरिएको छ । ‘मतदानको दिन उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधि मतदान केन्द्रको ५ सय मिटर परिधि भित्र स्थिर भएर बस्न समेत रोक लगाउछौ,’ प्रजिअ आचार्यले भने ।
मतदानको दिन अनुमति लिएका बाहेक अन्य सवारी साधन चल्न नपाइने उनले जानकारी दिए । अनुमति बेगर सवारी चलाएमा नियन्त्रणमा लिइ कानूनी कारवाही गर्ने उनले चेतावनी दिएका छन् ।



































