८ मंसिर, गोरखा । हालै सम्पन्न निर्वाचनमा गोरखा–१ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका राजेन्द्र बजगाईले प्रदेश हारको बदला लिएका छन् । २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा जो सँग पराजित भए उनैलाई यसपटक उनले प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरले पछि पारे ।
३३ हजार ४२८ मत ल्याएर बिजयी बनेका बजगाईले आफ्ना निकटतम प्रतिपस्र्धी नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ को फराकिलो मतान्तरले पछि पारेका छन् । बस्नेत तिनै हुन् जसले २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्वर १ को ख प्रदेशमा बजगाईलाई पराजित गरेका थिए ।
बस्नेतले १६ हजार ६५६ मत प्राप्त गर्दा बजगाईले १३ हजार १ मत मात्र प्राप्त गरेका थिए । माओवादी केन्द्रसँग बाम गठवन्धन गरेका कारण पनि त्यति बेला बस्नेतलाई जित सहज भएको थियो ।
त्यही हारको बदला फेर्दै बजगाईले अहिले भारी मतान्तरले बस्नेतलाई पछि पारे । लोकतान्त्रिक बाम गठवन्धनका कारण पनि बजगाईलाई अहिले जित सहज भएको हो । आफ्नो जितको पछाडी गठवन्धन नै प्रमुख कारण रहेको बजगाई बताउछन् । ‘प्रमुख कारण त गठवन्धन नै भयो तर अघिल्लो चुनावको हारले मलाई धेरै पाठ सिकायो,’ उनले भने, ‘मैले मेरो व्यक्तित्व बिकास गर्ने मौका पाए र आफ्नो परिचय दिने मौका पनि पाए, त्यसकै कारण पनि आज सफलता मिल्यो ।’
अवका दिनमा आफ्नो निर्वाचन क्षेत्रसँगै समग्र जिल्लाको बिकासका लागी आफू लागी पर्ने उनले बताए । ‘समग्रमा जिल्लाको आवश्यकता अध्ययनका लागी बिशेष टोली गठन गर्ने तयारी गरेको छु, टोलीले गरेको अध्ययनको आधारमा जिल्लामा आवश्यक बिकास निर्माणका लागी केन्द्रमा झक्झक्याउने छु,’ उनले भने ।



































