१० मंसिर, गोरखा । गोरखा क्याम्पस गोरखाले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । गत कात्तिक ३० गते बिश्वविद्यालय अनुदान आयोगबाट प्रमाणपत्र प्राप्त भएको क्याम्पसले जनाएको छ । आयोगका अध्यक्ष प्रा. डा. भीमप्रसाद सुुवेदीले क्याम्पस प्रमुख रामशरण वानियालाई एक कार्यक्रमका बिच प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
सोही प्रमाण पत्र पाएको खुशीयालीमा क्याम्पसले शुक्रवार उत्सव मनाएको छ । क्याम्पसमा औपचारिक कार्यक्रमको आयोजना गरी उत्सव मनाइएको क्याम्पस प्रमुख वानियाले बताए । कार्यक्रम पूर्व ¥याली समेत गरिएको थियो । पञ्चेबाजा सहित हरमटारी खेलमैदानबाट निस्किएको ¥याली बिसौनी, बसपार्क हुदै क्याम्पस पुगेर टुंगिएको थियो ।
क्यूएए प्राप्तीका लागी क्याम्पसले पठाएको आशयपत्र २०७४ साल जेठ ३ गते स्वीकृत भएको थियो । २०७६ सालमा क्याम्पसले प्रस्तुत गरेको स्वअध्ययन प्रतिवेदन आयोगले स्वीकृत गरेपछि समकक्षी परिक्षण समिति गठन भएको क्याम्पसका संजय अधिकारीले बताए । समितिबाट दुई चरणमा मूल्याकंन कार्य सम्पन्न भएपछि क्यूएए प्रमाण पत्र प्राप्त भएको उनले जानकारी दिए ।
शैक्षिक नीति तथा कार्यक्रम, शैक्षणिक पक्ष, शिक्षक सिकाइ र मूल्याकंन, अनुसन्धान तथा परामर्श सेवा विस्तार, भौतिक पूर्वाधार र सिकाइ सामग्रीको व्यवस्थापन, बिद्यार्थी सहयोग तथा परामर्श, सार्वजनिक सूचना लगायतका आठ क्षेत्र अन्तरगत तय गरिएका १ सय २० मापदण्डहरु मूल्याकंनको आधारमा आयोगले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र उपलब्ध गराएको उनले जानकारी दिए ।
‘यो प्रमाणपत्र पाँच बर्षका लागी हुन्छ,’ उनले भने, ‘तर बर्षैपिच्छे आयोगले सबै मापदण्डको मूल्याकंन भइरहेको हुन्छ ।’ क्यूएए प्रमाणपत्र प्राप्त क्याम्पसबाट हासिल गरिएको शैक्षिक प्रमाणपत्रले बिश्व बजारमा पनि मान्यता पाउने बताइएको छ । आयोगबाट अनुदान समेत प्राप्त हुने क्याम्पसले जनाएको छ ।
२०३५ सालमा स्थापना भएको गोरखा क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तरगत जिल्लाकै एक मात्र आगिंक क्याम्पस हो । हाल १ हजार ५६ बिद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन् ।



































