१८ मंसिर, गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको ११ औ साधारणसभा सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका–७ आरुवोट होमस्टेमा भएको साधारणसभाले ६ बुदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
पत्रकारिता र पत्रकार महासंघको गरिमालाई उच्च मर्यादित बनाउन गोरखा शाखाको पहिचानको रुपमा रहेको सदस्यता सुद्धिकरण र क्रियाशिल पत्रकारको सदस्यता सिफारिस अभियानलाई निरन्तरता दिने घोषणा साधारण सभाले गरेको छ । संचार क्षेत्रमा बिकास हुदै गएको नयाँ प्रविधिसँग सामजस्य हुने गरी पत्रकारहरुको क्षमता अभिवृद्धिका लागी तालिमहरु संचालन गर्ने महासंघले जनाएको छ ।
श्रमजिवी पत्रकारको हकहितको सवाल कार्यान्वयन गर्न सम्बन्धित पक्षसँग माग समेत गरिएको छ । महासंघको हाल निर्माणाधिन भवनलाई पूर्णता दिनका लागी आवश्यक सहयोग गरिदिन साधारणसभाले अपिल समेत गरेको छ । पर्यटकीय सम्भावना बोकेको आरुवोट गाउँको सडक, खानेपानी लगायतका पूर्वाधार बिकासका लागी संघ, प्रदेश र स्थानीय सरकार समक्ष माग समेत गरिएको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष नरहरी सापकोटाको अध्यक्षता एवं नेपाल पत्रकार महासंघकी केन्द्रिय सचिव सिर्जना अर्यालको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा महासंघका गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा, पत्रकार महासंघ गोरखाका संस्थापक अध्यक्ष किशोरजंग थापा, पूर्व अध्यक्ष भीमलाल श्रेष्ठ, तुलसी स्मृति प्रतिष्ठानका पुरुषोत्तम अर्याल, सिरानचोक गाउँपालिकाका वडा सदस्य राजेश गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
साधारण सभाले महासंघ गोरखा शाखाका सचिव विकास मरहट्टाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मोहसिन अलि मियाले प्रस्तुत गरेको आय, ब्याय विवरण पारित समेत गरेको छ ।



































