२४ मंसिर, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेवेशी स्थित चम्पावती हाइड्रोपावरको कार्यालयमा स्थानीयले आगजनी गरेका छन् । स्टमेट अनुसार काम नभएको भन्दै लम्जुङको राइनस नगरपालिकाका स्थानीयले शनिवार दिउँसो कार्यालयमा आगजनी गरेका हुन् ।
आगजनीबाट कार्यालय परिसरमा रहेको मिनि ट्रक र मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ । जेसिभीमा आशिंक क्षति पुगेको छ । हाइड्रोको कार्यालय रहेको दुई वटा अस्थायी टहरामा समेत स्थानीयले अगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।
‘हाइड्रोले पानी निकास हुने ठाउँ स्टमेटमा भएको भन्दा दुई सय मिटर तल लगेछ,’ उनले भने, ‘सिंचाइ हुने कुलोको बाँधभन्दा तल पानी निस्केपछि स्थानीयले बिरोध गरेका रहेछन् ।’
पाँच सयभन्दा बढीको संख्यामा आएका राइनस नगरपालिकाका स्थानीयले कार्यालयमा रहेको फर्निचरमा समेत तोडफोड गरेका छन् ।
सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था थप कडा पारिएको उनले जानकारी दिए ।



































