३ पुष, गोरखा । अपाङ्गता भएकाहरुका लागी निर्माण भएका नीति, नियम र कानून कार्यान्वयनको माग राख्दै प्रगतिशिल अपाङ्ग संघ गोरखाले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष अमर गुरुङले आइतवार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई ज्ञापन पत्र बुझाउँदै कानून कार्यान्वयन भए नभएको निरन्तर अनुगमन गर्न आग्रह गरेका छन् । ‘अपाङ्गता अधिकार ऐन २०७४’ मा अपाङ्गता भएका व्यक्तिहरुलाई बस, रेल र हवाईजहाज जस्ता सार्वजनिक सवारी साधानको भाडामा ५० प्रतिशत छुट हुने व्यवस्था रहेपनि त्यसको कार्यान्वयन नभएको उनले गुनासो गरे ।
छुट माग्दा उल्टो आफूहरु माथि दुव्र्यवहार हुने गरेको भन्दै कानून कार्यान्वयनका लागी आवश्यक पहल गरिदिन उनले प्रजिअ समक्ष माग गरेका छन् ।
सरकारी कार्यालयको भवन अपाङ्गमैत्री बनाउन र बनिसकेका भवनहरुमा प्रमुख र उप–प्रमुखको कार्यालय भुई तल्लामा राख्ने व्यवस्था गर्न समेत संघले माग गरेको छ ।



































