पौष १७,गोरखा । गण्डकी र बारपाक सुलिकोट गाउँपालिकाका किसानले यस बर्ष तीन करोड ६० लाख अनुदान रकम पाउने भएका छन् ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखा मार्फत रकम वितरण हुन लागेको हो । अनुदान रकम वितरणका लागी कृषक समूह छनोट भइसकेका छन् ।
‘पुरक अनुदान र साना अनुदान भन्ने छ,’ कार्यालय प्रमुख केशव देवकोटाले भने, ‘पुरक अनुदानका लागी ३५ वटा समूह र साना अनुदानका लागी ३० वटा समूह छनोट भएका छन् ।’ उनका अनुसार पुरक तर्फ छनोट भएका समूहले प्रति समूह ६ लाख र साना अनुदान तर्फका समूहले ५ लाखका दरले रकम पाउने छन् ।
पुरक अनुदान तर्फ बारपाक सुलिकोटका १८ र गण्डकी गाउँपालिकाका १७ वटा समूह छनोट भएका छन् भने साना अनुदान तर्फ दुवै पालिकाका १५÷१५ वटा समूह छन् । उनीहरुले ८५ प्रतिशत अनुदान पाउने छन् । बाँकी १५ प्रतिशत उनीहरु आफैले व्यहोर्नुपर्नेछ । अनुदान पाएका कृषक समूहले तरकारी खेती, पशुपालन, कुखुरा पालन, डेरी संचालन लगायतका काम गर्न मिल्ने कार्यालयले जनाएको छ ।
कृषि उपकरण समेत खरिद गर्न मिल्ने बताइएको छ । ‘हामीले उपलब्ध गराउने अनुदानका रकम खर्च गर्ने पनि मापदण्ड छ, कुल रकमको ८० प्रतिशत पुजिँगत सामान किन्नुपर्छ बाँकी २० प्रतिशतले तालिम, बिउ खरिद लगायतका काम गर्न पाइन्छ,’ कार्यालय प्रमुख देवकोटाले भने । समूह छनोटका लागी जिल्लामा कार्यालय प्रमुखको संयोजकत्वमा परियोजना छनोट समिति रहेको छ ।
त्यस्तै पालिका स्तरिय बहुसरोकारवाला संवाद मञ्च समेत रहेको छ । मञ्चको संयोजकमा सम्बन्धित पालिकाका अध्यक्ष रहेका छन् । अनुदानका लागी आवेदन संकलन र समूह छनोटको निर्णय सोही समितिहरुले गर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार निवेदन सकंलन गरेर लाभान्वित हुने कृषक समूह छनोट गरिएको कार्यालय प्रमुख देवकोटाले बताए ।
उनका अनुसार अहिले छनोट भएका समूहसँग सम्झौताको प्रक्रिया अघि बढेको छ । ‘उहाँहरुसँग सम्झौता भएपछि काम शुरु हुन्छ, कामको आधारमा फिल्ड अनुगमन गरेर हामी रकम भुक्तानी गर्छाै,’ उनले भने । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रसँग आवश्यक समन्वय गरी योजना कार्यान्वयन गरिने हुदाँ ‘डुब्लिकेशन’ नहुने उनको भनाइ छ ।
कृषकको पोषण अवस्थामा सुधारसँगै जीविकोपार्जनमा समेत सघाउ पु¥याउने उदेश्य कार्यक्रमको रहेको बताइएको छ । कार्यालयका अनुसार दुवै पालिकामा तरकारी तथा फलफुल संकलन केन्द्र समेत निर्माण हुने छ । गण्डकी गाउँपालिकाको वडा नम्वर ७ स्थित ज्यामिरेघाट र बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्वर ८ स्थित देउरालीमा भवन निर्माण हुने भएको हो ।
भवन निर्माणका लागी दश÷दश लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ । गोरखाको बारपाक सुलिकोट र गण्डकी र धादिङको बेनिघाट र गजुरी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर कार्यालयले काम गरिरहेको छ ।



































