२७ पुष, गोरखा । भीमसेन थापा गाउँपालिका–५ वगुवा स्थित शान्ति माध्यमिक बिद्यालयलाई बिज्ञान सामग्री सहयोग गरिएको छ । शैक्षिक व्यक्तित्व एवं समाजसेवी स्वर्गिय शम्भु मरहट्टाको २७ औ स्मृति दिवसको अवसरमा शम्भु स्मृति प्रतिष्ठानले ५० हजार रकम बराबरको बिज्ञान सामग्री सहयोग गरेको हो ।
स्मृती दिवसकै अवसरमा ६ जना बिद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको प्रतिष्ठानका सचिव रामबाबु श्रेष्ठले बताए । छात्रवृत्ति पाउनेमा शान्ति माविको कक्षा ५ मा अध्ययनरत कुमारी बराम, कक्षा ६ का सुमित श्रेष्ठ र कक्षा १० की रविना दानकोटी रहेका छन् ।
त्यस्तै बिन्द्रावती मावि मसेलको कक्षा १० मा अध्ययनरत रोजिता बराम, शिवज्योती आधारभूत बिद्यालयको कक्षा ३ की समिक्षा सुर्खेती र चामुण्डा आधारभूत बिद्यालयको कक्षा २ का सुप्रिम दानकोटीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । उनीहरुलाई जनही तीन हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको हो ।
प्रतिष्ठानका अध्यक्ष केशव मरहट्टाको अध्यक्षता तथा भीमसेन थापा गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष होम बहादुर बरामको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शान्ति मावि बगुवाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्रुव कुमार भट्ट, प्रधानाध्यापक सुनिल खनाल, प्रतिष्ठानका सदस्य बिष्णु प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सचिव श्रेष्ठले स्वर्गिय मरहट्टाको जीवनी बारे जानकारी समेत गराएका थिए ।



































