१३ माघ, गोरखा । शहिद लखन गाउँपालिका–९ बुंकोटघाटमा हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । नाम्जुङ सेवा समाजको आयोजनामा फागुन २३ गतेबाट महायज्ञ हुन लागेको हो । उद्घाटनका लागी प्रधानमन्त्री आउने तय भइसकेको समाजका अध्यक्ष शिव बञ्जराले बताए ।
ऐतिहासिक महादेव मन्दिरको संरक्षण एवं शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उदेश्यले महायज्ञ गर्न लागिएको उनले जानकारी दिए । ‘बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने त्यो मन्दिर संरक्षण एवं स्थानान्तरणका लागी जग्गा व्यवस्थापनमा पनि सहयोग गर्ने लक्ष्य हो,’ उनले भने, ‘अहिले नाम्जुङको जनशक्ति माविमा संचालन भइरहेको प्राविधिक शिक्षा (फार्मेसी) लाई पनि सहयोग गर्छाै ।’
भीमवीरेश्वर मन्दिरको सत्तलभित्र हुने महायज्ञमा पण्डित दीनवन्धु पोखरेलले कथा वाचन गर्ने छन् । पोखरेलले नेपाल लगायत २० भन्दा बढी देशमा प्रवचन दिइसकेका छन् ।
महायज्ञबाट संकलित रकममध्ये केही विपतमा परेकाहरुलाई सहयोग गर्ने बताइएको छ । सहयोगका लागी आपतकालिन राहत कोष स्थापना गरिने बञ्जराले बताए । महायज्ञ संचालनका लागी सुरेन्द्र थापा संयोजक रहेको एक हजार एक सय मूल समारोह समिति गठन भइसकेको छ । ३५ वटा उपसमितिहरु पनि गठन भइसकेका छन् ।
फागुन ३० गतेसम्म चल्ने महायज्ञममा गोरखाको शहिद लखन, गण्डकी, भीमसेन थापा र धादिङको ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वय रहने छ ।



































