१९ माघ, गोरखा । टुक्रे योजनालाई प्राथमिकता दिदै बजेट विनियोजन गर्ने प्रवृतिलाई निरुत्साहित गर्न भन्दै गण्डकी गाउँपालिकाले यस बर्षबाट नयाँ सुरुवात गरेको छ । पालिकाले विनियोजन गरेको बजेटबाट प्रत्येक वडाले कम्तिमा ५० लाख बराबरको एउटा योजना अनिवार्य छनोट गर्नुपर्ने प्रावधान बनाइएको छ ।
टुक्रे योजनामा खर्च भएको रकम परिणाममुखी नभएकाले नयाँ सुरुवात गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताए । ‘गत सालको बजेट किताव हेर्दा पालिकामा ७ सय ३६ योजना रहेछन्, त्यसमाथि पनि अधिकांश टुक्रे,’ उनले भने, ‘अहिले हामीले घटाएर ४ सय ८६ वटा योजना मात्र बनाएका छौ ।’ धेरै योजनामा रकम बाँडफाँड गर्दा त्यसको दिगोपना र परिणाममुखी नहुने भएकाले टुक्रे योजनालाई कम गरिएको उनले जानकारी दिए ।
पालिकामा कुल आठ वटा वडा छन् । पालिकाले यस बर्ष प्रत्येक वडालाई एक करोड दश लाख देखि ३५ लाखसम्म रकम विनियोजन गरेको छ । उक्त रकममध्ये कम्तिमा ५० लाख एउटा योजनामा खर्च गर्नैपर्छ । ‘एक वडा एक गौरवको योजना’ भन्ने अभिप्राय सहित ५० लाख बराबरको एउटा योजना अनिवार्य गरिएको पालिका अध्यक्ष तिमिल्सिनाले बताए ।
‘२०७९/८० को बजेट सभाबाट निर्णय ग¥यौ, त्यही निर्णय अनुसार अहिले सबै वडामा ५० लाखको योजना छनोट भएर काम अघि बढेको छ,’ उनले भने । सबै वडाले सडक स्तरोन्नतीको योजनामा ५० लाख छुट्याएको उनले जानकारी दिए ।
वडा नम्वर १ मा मकैसिङ मूल सडक स्तरोन्नतीको काम अघि बढेको छ भने वडा नम्वर २ मा दलभन्ज्याङ कुवापानी पातीस्वाँरा हुदै सादी खोला नाला र सडक स्तरोन्नतीको । त्यस्तै वडा नम्वर ३ मा भलायडाँडा पुन्यगाउँ आमडाँडा ठुलोफाँट सडक स्तरोन्नतीको काम भइरहेको छ ।
वडा नम्वर ४ ले गैरीचौतारा देखि पौवा हुदँै पुरानो गाउँसम्म नाली एवं सडक स्तरोन्नती, वडा नम्वर ५ ले छोटेचार रामपुर सानो दर्वुङ लाङघालीचोक सडक स्तरोन्नती र वडा नम्वर ६ ले पल्लोटार गणई देवीथान हुदैँ कोराक सडक स्तरोन्नतीका योजना छनोट गरेर रकम विनियोजन गरेको पालिकाले जनाएको छ ।
वडा नम्वर ७ ले जलविरे खोला ज्यामिरेघाट कौदी सडक र वडा नम्वर ८ ले धवादीघाँट बाट वडा कार्यालय हुदै ते¥से कोरागाउँ वेनिगाउँ सडक स्तरोन्नतीको योजनामा बजेट विनियोजन गरेका छन् ।



































