२१ माघ, गोरखा । बाह्र किलो–बारपाक सडक कालोपत्रेका लागी काम शुरु भएको करिव सात बर्ष पुग्न लाग्यो, तर हालसम्म काम सम्पन्न भएको छैन । लोहनी एण्ड ब्रर्दश प्रालि र रसुवा इलाइट सुर्य जेभीले जिम्मा लिएको खण्डमा काम अलपत्र छ । कामभन्दा म्याद थप गर्न अग्रसर रहने यी दुई निर्माण कम्पनीको लापरवाहीले समयमै काम हुन नसकेको हो ।
अर्कुल बजारदेखि बालुवासम्मको ८ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको लोहनी एण्ड ब्रर्दश प्रालिको हालसम्म ६ पटक म्याद थप भइसक्यो । ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाका अनुसार २०७२ साल असार ३१ गते सम्झौता गरेर काम शुरु भएको हो । तर, हालसम्म कामको भौतिक प्रगति ७९ प्रतिशत मात्र छ । अन्तिम पटक थप भएको म्याद अनुसार २०८० साल असार २५ गते काम सक्नुपर्छ । तर कामको गति हेर्दा सम्पन्न गर्न मुश्किल देखिन्छ ।
वालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सुर्य जेभीको पनि काममा उस्तै लापरवाही छ । २०७३ असार ३० गते सम्झौता गरेर काम शुरु गरेको जेभीको पाँच पटकसम्म म्याद थप भइसकेको कार्यालयका इन्जिनियर आस्था देवकोटा बताउछिन् । तर कामको भौतिक प्रगति ७८ प्रतिशत मात्र छ । अन्तिम पटक थप भएको म्याद अनुसार २०८० असार २५ गतेभित्र काम सक्नुपर्ने हुन्छ । कामको गति हेर्दा सम्भव देखिदैन ।

अहिले दुवै खण्डमा काम भइरहेको कार्यालयकी इन्जिनियर देवकोटाले बताइन् । ‘कामदारहरु ल्याएर राख्नुभएको छ, काम पनि शुरु गरेका छौ भन्नुभएको छ,’ उनले भनिन् । उक्त सडकका लागी चालु आर्थिक बर्ष २५ करोड रकम विनियोजन भएको उनले जानकारी दिइन् ।
कुल ४६ किलोमिटरको उक्त सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको हो । बाह्र किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोप्रियट फर कन्स्ट्रक्सनले पाएको हो भने निवेलदेखि अर्कुल सम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको हो । यी दुवै खण्ड कालोपत्रे भइसकेको कार्यालयले जनाएको छ । तर बाँकी दुई खण्डको काममा भने ढिलासुस्ती भएको छ । काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्नुको सट्टा कार्यालयले पटक पटक म्याद थप गरिरहेको छ ।
कोरोनाका कारण पनि केही समय ढिलाइ भएको कार्यालय प्रमुख पशुपति ज्ञवाली बताउछन् । भन्छन्, ‘एउटा कारण त कोरोना पनि भयो, अर्काे सरकारले गरेको १२ औ संशोधनले पनि केही समय म्याद थपियो ।’ उनका अनुसार अहिले लोहनी एण्ड ब्रर्दशको काम सुस्त भएपनि रसुवा इलाइको काम भने तिव्र गतिमा भएको छ । थप भएको समयमा काम सम्पन्न हुने उनले अपेक्षा गरेका छन् ।



































