२७ माघ, गोरखा । यातायात क्षेत्र सुधारको माग गर्दै यातायात मजदुर संघ तथा संगठनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराएका छन् । बिहीवार जिल्ला प्रशासन कार्यालय मार्फत मन्त्री नारायणकाजी श्रेष्ठलाई मागपत्र बुझाउँदै ट्राफिक प्रहरीको आतंक नियन्त्रण गर्न माग गरेका छन् ।
ऐन विपरित ट्राफिक प्रहरीले जरिवाना असुल्ने गरेको उनीहरुको आरोप छ । सामान्य कसुरमा पनि ट्राफिकले चालकको लाइसेन्स निलम्वन गर्ने गरेको भन्दै निलम्वित लाइसेन्स फुकुवा गर्न समेत उनीहरुले माग गरेका छन् । सडक अतिक्रमणका कारण सवारी दुर्घटनाको जोखिम बढेको भन्दै यस्ता कार्य नियन्त्रणका लागी पहल गरिदिन आग्रह गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री, नेपाल यातायात मजदुर संघका अध्यक्ष किरणबाबु पन्त, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सुर्यभक्त पौडेलद्धारा संयुक्त रुपमा हस्ताक्षरित उक्त माग पत्रमा सडकमा ‘पिक एण्ड ड्रप’ र स्ट्याण्डहरुको व्यवस्था गर्न एवं सवारी तथा यातायात व्यवस्था ऐनका केही नियमवाली संशोधन गर्न पनि भनिएको छ ।
ट्रेड यूनियनहरुको प्रतिनिधित्व हुनेगरी यातायात क्षेत्र सुधारका लागी आयोग गठन गर्न पनि माग गरिएको छ ।



































