७ फागुन, गोरखा । गोरखा नगरपालिका–६ पदेली स्थित रानीपोखरी नामले परिचित पुष्कर तिर्थमा ‘गोरक्ष आरती’ शुरु भएको छ । शिवरात्रीको अवसर पारेर शनिवार एक कार्यक्रमका बिच आरतीको शुभारम्भ गरिएको हो ।
पुष्कर तिर्थ आरती समितिको आयोजनामा अव साताको प्रत्येक सोमवार साँझ नियमित आरती हुने बताइएको छ । धर्म र संस्कृतीको जर्गेनासँगै पर्यटन प्रवद्र्धनका लागी आरती शुरु गरिएको समिति अध्यक्ष भगवानबाबु मास्केले बताए । बैद्धिक गुरुकुलसँगको समन्वयमा आरती संचालनले निरन्तरता पाउने उनले जानकारी दिए ।
आरती संचालनका लागी बिभिन्न व्यक्ति र संघसंस्थाहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको समिति सचिव अयोध्या जोशीले बताए । ‘शनिवारमात्रै ५० जना भन्दा बढीले सहयोग गर्नुभयो, उहाहरुबाट प्राप्त रकमको अक्षयकोष बनाउछौ,’ उनले भने, ‘निश्चित शुल्क तिरेर पितृको सम्झना, जन्मोत्सव एवं अन्य बिशेष अवसर पारेर उनीहरुको नाममा आरती गर्ने व्यवस्था पनि मिलाउछौ ।’
आरतीको शुभारम्भ गर्दै गण्डकी प्रदेश सांसद एवं प्रदेश सरकारका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले आरती संचालनका लागी ५१ हजार १ सय ५१ रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।
समिति अध्यक्ष मास्केको अध्यक्षता एवं पाण्डेको प्रमुख अतिथ्यतामा भएको आरती शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, गोरखा नगरपालिकाका पूर्व मेयर राजनराज पन्त, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष एवं समिति सल्लाहकार मोहनलाल श्रेष्ठ, बोध प्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसर पारेर आरती संचालनका लागी सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको छ ।



































