१४ फागुन, गोरखा । तीस लाख खर्चेर भीमसेन थापा गाउँपालिका–५ वगुवामा निर्माण भएको तरकारी संकलन केन्द्र बनेदेखि नै प्रयोगविहीन छ । पाँच बर्षअघि निर्माण सम्पन्न भएपनि संचालनमा नल्याएपछि केन्द्रका संरचनाहरु अलपत्र छन् ।
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷७६ मा विनियोजन गरेको रकमबाट केन्द्र निर्माण गरिएको हो । प्रदेशका तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले उक्त योजनामा बजेट विनियोजन गरेका हुन् । विनियोजित तीस लाख रकमबाट पाँच वटा जस्ताले छाएको सामान्य ट्रष्ट बनाइएको छ ।
वगुवा स्वास्थ्य चौकीसँगैको करिव ५ रोपनी जग्गामा निर्माण गरिएको उक्त संरचनामा हाट बजार संचालन गर्ने उदेश्य राखिएको थियो । तर बनेदेखि नै केन्द्र संचालनमा नआएको स्थानीय बताउछन् ।
‘संरचना बनेको यतिका समय भयो तर आजसम्म न यहाँ न हाट बजार लाग्यो न तरकारी संकलनको काम भएको छ,’ स्थानीय ऋषि लामिछानेले भने । तरकारी संकलन केन्द्र निर्माण हुनु सकारात्मक भएपनि हालसम्म संचालनमा नआउनु दुखद भएको उनले बताए ।
संरचना बनाएर रकम फरफारक गरेपनि हाट बजार संचालनमा नआएको भन्दै स्थानीय मन बहादुर रिमालले गुनासो गरे ।
स्थानीयका अनुसार सो क्षेत्रमा कमै मात्र व्यवसायिक तरकारी खेती हुने गर्छ । सिख्रे, रिठ्ठेपानी लगायतका स्थानमा हुने सामान्य खेती गर्न पनि स्थानीयले छाडिसकेका छन् । आवश्यकताको पहिचान नगरी हाट बजारका लागी बजेट विनियोजन गर्दा सदुपयोग नभएको भन्दै आलोचना समेत हुन थालेको छ ।
प्रयोगविहिन केन्द्रमा गाउँपालिकाद्धारा २० लाख रकम विनियोजन
प्रयोगविहिन उक्त संकलन केन्द्रमा भीमसेन थापा गाउँपालिकाले थप रकम विनियोजन गरेको छ । अलपत्र र जिर्ण बन्दै गएका संरचनामा मर्मतका लागी दश लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताए । ‘यसअघि प्रदेशले बनाएको संरचनामा गारो थिएन, जस्ताले छाएको खुल्ला संरचना मात्र थियो, ती संरचना पनि जिर्ण बन्दै गएका थिए,’ उनले भने, ‘ती मध्ये तीन वटा संरचनामा चार फिट इट्टाको गारो लगाएर प्लाष्टर गर्ने, सटर राख्ने र त्यसमाथि जाली राखेर रंगरोकन गर्ने काम भइरहेको छ ।’
हाइवेबाट केन्द्रसम्म जाने सडक ढलानका लागी पनि दश लाख रकम विनियोजन गरिएको उनले बताए । सो रकमबाट ६ वटा ह्मिपाइप समेत राखिने उनले जानकारी दिए ।
पाँच बर्षअघि बनेको संकलन केन्द्रको फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन गरिएको छ । उद्घाटन भएपनि आजसम्म केन्द्र प्रयोगमा आउन सकेको छैन । साप्ताहिक रुपमा हाट बजार संचालन गर्ने भन्दै रकम विनियोजन भएपनि हालसम्म संचालनमा नआएको कृषि बिकास निर्देशनालय पोखराका कृषि इन्जिनियर बिश्वनाथ पौडेलले समेत बताए ।
‘संचालनमा आएन भन्ने गुनासो आएपछि हामीले स्थलगत निरिक्षण समेत गरेका थियौ,’ उनले भने, ‘संचालनमा नआएको पाएपछि तत्काल संचालन गर्न निर्देशन समेत दियौ तर अझै कार्यान्वयन भएको रहेन छ ।’ तत्काल संचालनका लागी आवश्यक पहल गर्ने उनले जानकारी दिए ।
पाँच बर्षसम्म पनि संचालनमा नआएपछि राज्यको लगानीको सदुपयोग हुन नसकेको भन्दै आलोचना समेत हुन थालेको छ ।



































