१९ फागुन, गोरखा । सार्वजनिक सवारी साधनको भाडामा बिद्यार्थीलाई छुट दिने सरकारको निर्णय कार्यान्वयन गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटी गोरखाले माग गरेको छ ।
शुक्रवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले २०६५ सालमा सरकारले गरेको निर्णय हालसम्म जिल्लामा कार्यान्वयन नभएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘बिद्यार्थी संगठनको लगातारको आन्दोलन पश्चात २०६५ सालमा सरकारले बिद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको थियो,’ कमिटी अध्यक्ष प्रताप ढकालद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘तसर्थ गोरखा जिल्लामा पनि यस व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गराउनका निमित्त जिल्ला प्रशासन कार्यालयले अभिभावकत्वको भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्दछौ ।’
उक्त निर्णय कार्यान्वयन नभए संघर्षका कार्यक्रम घोषणा गर्ने अनेरास्ववियुले जनाएको छ ।



































