२४ फागुन, गोरखा । जिल्ला समन्वय समिति मातहत रहेको बा २ झ ५५७ नम्वरको गाडी थन्किएको तीन महिना भयो । बा २ झ ३७९८ नम्वरको गाडी चालु आर्थिक बर्षदेखि नै संचालनमा छैन । त्यति मात्र होइन उक्त कार्यालय मातहत रहेको तीन वटा मोटरसाइकल बर्षाैदेखि कार्यालय परिसरमा वेवारिसे अवस्थामा थन्किएर बसेको छ । प्रयोगमा नआउँदा ती सवारी साधन थोत्रिसकेका छन् । मर्मत अभावले संचालनमा ल्याउन नसकेको जिल्ला समन्वय अधिकारी नानी बाबु पोखरेल बताउछन् ।
‘दुई वटा गाडी बिग्रिएर बसेको छ तर मर्मत गर्न सकेका छैनौ,’ उनले भने, ‘पुरानो मोडलको गाडी भएकाले मर्मत गर्न पनि समस्या छ ।’ मर्मत खर्चका लागी आएको बजेट सधै अपुग हुने भन्दै उनले थपे, ‘प्रमुख ज्यू चढ्ने गाडी पनि पुरानो भइसक्यो, प्राय बिग्रिरहन्छ, मर्मतका लागी आएको पैसाले अरु गाडी बनाउने कुरा त त्यस्तै हो, प्रमुख ज्यू चढ्ने गाडी बनाउदै ठिक्क हुन्छ ।’ वेवारिसे अवस्थामा थन्किएर बसेका मोटरसाइकल मर्मत गरेर पनि संचालनमा ल्याउन सक्ने अवस्था नरहेको उनले बताए । लिलाम बिक्री गर्नुपर्ने भएपनि प्रक्रियागत झन्झटका कारण समस्या भएको उनको भनाइ छ ।
जिससको मात्र होइन जिल्लाका अधिकांश सरकारी कार्यालयमा कम्तिमा एउटा सवारी साधन थोत्रिएर बसेका छन् । ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना मातहतको तीन वटा मोटरसाइकल बर्षाैदेखि संचालनमा छैन । पूर्वाधार बिकास कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, शिक्षा बिकास तथा समन्वय इकाइ र कृषि ज्ञान केन्द्रको पनि एक÷एक वटा मोटरसाइकल प्रयोगविहीन छन् । प्रयोग भएका सवारीहरु पनि ‘कन्डिसनमा’ नरहेको कार्यालय प्रमुखहरु बताउछन् ।
‘हाम्रो कार्यालयको पाँच वटा बाइकमध्ये एउटा चल्दैन, बाँकी चार वटा पनि पुराना भइसके, मर्मतमै धेरै खर्च हुन्छ,’ भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमालले बताइन् । जिल्ला प्रहरी कार्यालय मातहतको दुई वटा मोटरसाइकल र जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतको एउटा मोटरसाइकल पनि लामो समयदेखि प्रयोगमा छैन ।
जिल्लाका सरकारी कार्यालय मातहतका १४ भन्दा बढी मोटरसाइकल संचालनमा नरहेको तथ्याङ्क छ । कतिपय थोत्रो भएर काम नलाग्ने भइसके भने कतिपय मर्मत गरेर संचालनमा ल्याउन मिल्ने अवस्थाका छन् । तर मर्मतमा सम्बन्धित कार्यालयहरुले वेवास्ता गर्दै आएका छन् । लिलाम बिक्रीका लागी पनि उनीहरुले हालसम्म प्रक्रिया अघि बढाएका छैनन् । प्रयोगमा नआउँदा राज्यको लाखौको सम्पत्ति सदुपयोग हुन सकेको छैन ।



































