१ चैत्र, गोरखा । जिल्लाका अधिकांश खानेपानीका मुहानमा कोलिफर्म (दिसामा पाइने किटाणु) भेटिएको छ । स्वास्थ्य कार्यालयले हालसालै गरेको परिक्षणले अधिकांश मुहानमा कोलिफर्म भएको पुष्टी गरेको हो ।
कार्यालयले चार वटा पालिकाका ४५ ठाउँको धारा तथा कुवाँको खानेपानीको नमूना परिक्षण गरेको थियो । त्यसमध्ये ३२ वटामा कोलिफर्म भेटिएको कार्यालयका ल्याब टेक्निसियन निरिक्षक एवं महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
‘गण्डकी गाउँपालिकामा ६ वटा मुहानको परिक्षण गरेका थियौ,’ उनले भने, ‘सबैमा कोलिफर्म भेटियो ।’ वडा नम्वर ७ र ८ घ्याल्चोकमा रहेको श्रीकृष्ण चोक, सिमलटार खानेपानी, चुरिनटार बुटार खानेपानी, सुन्दरवस्ती खानेपानी, जलविरे खोला मुहान र घ्याल्चोक स्वास्थ्यचौकीमा रहेको खानेपानीमा कोलिफर्म भेटिएको उनले जानकारी दिए ।
त्यस्तै धार्चे गाउँपालिकाको चार वटा मुहानमा पनि कोलिफर्म भेटिएको छ । ती मुहान वडा नम्वर ४ लाप्राकको नसुर, पुर्मिकाङ, युवासी र याराङ रहेका छन् । सो गाउँपालिकाको कुल ६ वटा मुहानको पानीको नमूना परिक्षण गरिएको थियो । ‘आरुघाट गाउँपालिकाको १७ वटा मुहानको नमूना परिक्षण गरेका थियौ, ९ वटामा कोलिफर्म देखियो,’ अर्यालले भने । वडा नम्वर ५ र ६ आरुआर्वाङको अधेरी खोला, नेवार पधेरा, ढाडस्वाँरा, अलैचे पानी, पुरानो पानी, धुरु खोला र नेवार गाउँको पानीमा कोलिफर्म भेटिएको उनले बताए । धुरु खोला र नेवार गाउँको पानीमा सबैभन्दा बढी कोलिफर्म रहेको उनले जानकारी दिए ।

कार्यालयका अनुृसार शहिद लखन गाउँपालिकाको १६ मुहानको पानीको नमूना परिक्षण गरिएको थियो । जसमध्ये १३ वटा मुहानमा कोलिफर्म देखिएको छ । वडा नम्वर ४ र ५ ताक्लुङ स्थित बर्लाङदी, चालिसे, रिन्जेली, देउरालीछाप, मंगलधारा, थानीडाँडा, सिंजाली मावि, जुडीटार, चापखोला, राइनास, बाइसेपुल, बडहरे र खड्का गाउँको पानीमा कोलिफर्म भेटिएको हो । ‘झाडापखालाका बिरामी बढेको ठाउँलाई लक्षित गरी त्यहाँका खानेपानीको नमूना परिक्षण गरेका हौै,’ अर्यालले भने, ‘अधिकांशमा कोलिफर्म भेटियो, त्यो भनेको पानीमा मानिसको दिसा मिसिएको छ भन्ने हो ।’
कोलिफर्म के हो र यसले स्वास्थ्यमा कस्तो असर गर्छ ?
अर्यालका अनुसार कोलिफर्म भनेको मानिसको दिसामा पाइने एक प्रकारको किटाणु हो । यो कुनै एउटा ब्याक्टेरिया मात्र नभइ दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो । अर्यालका अनुसार पानीमा कोलिफर्म भेटिनु भनेको मानिस लगायत कुनै न कुनै पशुपंक्षीको दिसा मिसिनु हो । कोलिफर्म मिसिएको पानी पिउँदा पखाला लाग्ने, ज्वँरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने जस्ता समस्या हुन्छन् ।
पानीमा कोलिफर्म मिश्रण हुन नदिन के गर्ने ?
पानीमा कोलिफर्म मिश्रण हुन नदिन बिभिन्न उपाय अपनाउन सकिने कार्यालयका महामारी फोकल पर्सन अर्याल बताउछन् । उनका अनुसार पानीको मुहानको वरपर दिसा–पिसाव निषेध गर्ने र नियमित सरसफाइ गर्ने, मुहान संरक्षण गरी भलपानी पस्नबाट रोक्ने, नजिकका सेफ्टी ट्यांकीबाट हुने लिकेज नियन्त्रण गर्ने तथा फुटेका पाइपहरुको समयमै मर्मत गर्ने कार्यले कोलिफर्म मिश्रणबाट जोगाउछ । बिभिन्न विधि अपनाएर पानी शुद्धिकरण गरेमा पनि कोलिफर्मबाट बच्न सकिने उनको भनाइ छ ।



































