९ चैत्र, गोरखा । गोरखा बजार क्षेत्रमा सवारी पार्किङको नयाँ व्यवस्था लागू भएको छ । हरमटारीचोकदेखि बिसौनीमोडसम्म वाया (हरमटारीबाट बिसौनीमोड जादाँको देव्रे तर्फ) मात्र सवारी पार्किङ गर्न पाउने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘त्यो क्षेत्रमा दाहिने तर्फ सवारी पार्किङ निषेध गरेका छौ,’ जिल्ला ट्राफिक इन्चार्ज बेदनाथ भण्डारीले भने, ‘‘जिविसचोक आसपास भने दायाँ तर्फ केही मोटरसाइकल पार्किङ गर्न ठाउँ तोकिदिएका छौ ।’ शक्तिचोकदेखि बसपार्कसम्म पनि वाया तर्फ मात्र पार्किङ गर्न पाउने व्यवस्था गरिएको छ । बिसौनीमोड देखि शक्तिचोकसम्मको क्षेत्रमा भने स्थानीयसँग छलफल भइरहेको पौडेलले जानकारी दिए ।
हरमटारीदेखि घ्याम्पेशालचोकसम्म यसअघि नै आलोपालो दाया वाया पार्किङको व्यवस्था भइसकेको छ । ‘एक दिन दाया र अर्काे दिन वाया तर्फ गरेर आलोपालो पार्किङको व्यवस्था मिलाएका हौ,’ ट्राफिक इन्चार्ज भण्डारीले भने ।

पार्किङ निषेधित क्षेत्रमा ‘नो पार्किङ’ का बोर्डहरु राखिएको ट्राफिक असई बसन्त पौडेलले बताए । बजार क्षेत्रको पार्किङलाई व्यवस्थित गर्ने उदेश्यले स्थानीय टोल बिकास संस्थासँग छलफल गरेर निर्णय गरिएको उनले जानकारी दिए ।
लागू गरिएको नयाँ व्यवस्थालाई अटेर गरी जथाभावी पार्किङ गरेमा कारवाही गरिने कार्यालयले चेतावनी दिएको छ ।



































